बुटवल । पाँच नम्बर प्रदेश सरकारले दाङ, नेपालगञ्ज र भैरहवामा कोरोना भाइरस परीक्षण प्रयोगशाला बनाउने भएको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।
पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीकाअनुसार प्रदेश ५ मा तीनवटा प्रयोगशाला स्थापना गर्ने निर्णय भएको छ । जसअनुसार भैरहवाको गहुँबाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी ५ नम्बर प्रदेश सरकारले एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने, ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
प्रदेश सरकारले निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने र सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने निर्णय गरिएको छ । त्यस्तै, खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।