नाकामा पालिकाको खाद्यान्न : गाउँलेहरु हेर्नेमात्रै, भन्छन्, किन्ने सुको छैन

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ३७


शिवु खनाल 
डगमरानाका । भारतसँग जोडिएको नेपालको २६ वटा नाका बन्द भयो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्नको लागि भारतसँग जोडिएको नेपालका सानाठूला २६ वटा नाकाहरू नेपाल सरकारले अनिश्चितकालका लागि बन्द गरेको हो ।

नाका बन्द भएपश्चात नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि देशैभर लकडाउन गर्यो । यता लकडाउनका कारण भारतसँग जोडिएका नाकाहरूमा राजपुर गाउँपालिकाले ढुवानी खर्च व्यहोर्ने गरी खाद्यान्न लग्यो तर, खाद्यान्न किन्ने पैसा नभएको गुनासो नाकाबासीहरूले पोखे । 

‘घरको भकारी रित्तो छ । घरमा खानेकुरा केही छैन । भारतीय बजारबाट किनेर ल्याएको अन्नपानी सबै सकियो । दैनिक उपभोग गर्ने भारतीय बेचैपुरूवा र सिरसिया बजारबाट ल्याएको खाद्यान्न सबै सकियो’, राजपुर गाउँपालिका– ७ का प्रमोद घर्तीले रूँदै दुःखेसो सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले खाद्यान्न पठाएको छ तर, त्यो खाद्यान्न किन्ने एक सुको पैसा छैन । पैसा नदिँदा खाद्यान्न पाएका छैनौँ । के खाने हो अब ? पैसा नहुनेले खानै नपाउने हो र ? यो विपद्को बेला हामीलाई पालिकाले नै खाद्यान्न निःशुल्क उपलब्ध गराउनु गर्छ ।’

भारतमा ज्याला मजदुर गरी जीवन गुजारा गर्दै आएका राजपुर गाउँपालिका– ७ गम्भिरानाकाका लालबहादुर विश्वकर्माले भन्नुभयो, ‘अहिले कोरोना भाइरसका कारण भारत जान बन्द भएपछि वेरोजगार भएका छौँ । घरमा खाने कुरा केही छैन । भारतबाट ल्याएको सबै अन्नपानी सकियो । जसका कारण नाकामा खाद्यान्नको चरम अभाव भयो । गाउँपालिकाले खाद्यान्न पठायो तर, त्यो खाद्यान्न किन्ने पैसा छै ।’

‘घरमा एक सुको पैसा छैन । घरमा रहेको खाद्यान्न सकियो । ६ जना परिवारलाई के खुवाउने हो ?’, नाकामा खाद्यान्न आएपछि पैसा खोज्न गन्धैलानाका ससुराली पुगेको र पैसा नभएपछि रित्तो हात फर्किए । ‘नाकामा खाद्यान्न झर्यो तर, पाइन्छ कि पाइँदैन थाहा छैन’, उहाँले भन्नुभयो । अहिलेसम्म घरमा रहेको मकै बुझेर खाएका छौ । घरमा अन्नपानी नभएपछि छोराछोरीलाई मामाघर पठाएको छु । अहिले घरमा बुवा, आमा, र म बसेका छौँ ।’ 

यता राजपुर गाउँपालिकाअन्तरगत पर्ने प्रायः सबै नाकालीहरूले खाद्यान्न किन्ने पैसा नभएको बताउँछन् । नाकाको मुख्य आयस्रोत भनेको खसीबोका बिक्री गरेर आम्दानी गर्नु हो तर, अहिले लकडाउन र कोरोना भाइरसका कारण खसीबोका किन्ने कोही व्यापारी आउदैनन् नाकामा । ‘अन्य उपाय केही छैन हामिसँग’, राजपुर गाउँपालिका– ७ गौरियानाकाकी सीमा बाँठा मगरले बताउनुभयो ।

‘हामीलाई चामल, तेल र नुन भए अरू केही चाहिँदैन’, खङ्ग्रानाकाका कविराज पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेतमा गहुँ, अडहर, मकै छ तर, भएर के गर्नु ? त्यसै खानु भएन । धान दाउनु पर्यो । केले दाउने ? मिल छैन । अन्न भएर त्यस्तै खानु भएन । मैक छ, मिल छैन । भारत जाऔं भने रोग छ । नेपाल जाऔं भने बाटो छैन ।’ 

यता राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले अति गरिबी, विपन्न र सिमान्तकृत समुदायहरूको पहिचान गरी नाकामा खाद्यान्न उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजपुरको १, ६ र ७ नम्बर वडामा नाकाहरू पर्छन् र उक्त नाकामा सोही वडाध्यक्षहरू डाटासंकलनको लागि परिचालन गरेका छौं । डाटासंकलन पश्चात सोहीअनुसार नाकामा खाद्यान्न उपलब्ध गराउने छौँ ।’ अहिले गाउँपालिकाले ढुवानी खर्च व्यहोर्नुपर्ने गरी बजारकै मूल्यमा नाकामा खाद्यान्न पुराएका छौं ।’

यस्तै राजपुर गाउँपालिकाका प्रवक्ता श्याम रोकाले सबै नाकाको डाटा दुई दिनभित्र संकलन गरी ल्याएर गाउँपालिकाको बैठकबाट सकभर सबै नाकावासीलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठक बिना हामीले केही गर्न सक्दैनौं । निशुल्क खाद्यान्न उपलब्ध गराउन बैठकले निर्णय गर्नै पर्छ ।’

 


प्रतिक्रिया दिनुहोस्