आत्मानुशासन कायम गरेर महामारीलाई परास्त गर्न सभामुखको अपील [भिडियोसहित]

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १२ : ५९


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आत्मानुशासन कायम गरेर महामारीलाई परास्त गर्न अपील गर्नुभएको छ । ‘महामारी निश्चय नै लामो समय रहने छैन’, सभामुख सापकोटाले देशवासीका नाममा अपील जारी गर्दै भन्नुभएको छ, ‘तर, यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा हामै्र सामूहिक प्रतिबद्धतामा निर्भर छ । त्यसैले, आत्मानुशासन कायम गरौं र यो महामारीलाई परास्त गरौं ।’

सभामुख सापकोटाले प्रतिनिधिसभाको २०७६ फागुन २३ गतेको बैठकले कोरोना विरुद्ध राष्ट्रिय संकल्पका साथ अगाडि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको स्मरण गराउँदै भन्नुभएको छ, ‘थप पहलकदमीका लागि संघीय संसद सदैब तयार छ । यसका लागि आ–आफ्नो ठाउँबाट पहल जारी राख्न सम्पूर्ण माननीय सदस्यहरुलाई आह्वान गर्दछु ।’

सभामुख सापकोटाको अपीलको पूर्णपाठ  
‘आदरणीय दिदीबहिनी एवं दाजुभाइ,
हामी विश्वभरि महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस  
[COVID – 19] ले उत्पन्न गरेको हाम्रो समयको सबैभन्दा विषम परिस्थितिमा छौं । विश्वलाई नै आक्रान्त बनाइरहेको यो रोगका कारण हामीलाई आफ्ना सारा बाह्य क्रियाकलाप बन्दाबन्दी अर्थात् लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको छ । 

कोरोना भाइरसको संक्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन म सम्पूर्ण दाजुभाइ एवं दिदीबहिनीमा हार्दिक अपिल गर्दछु । 

सरकारका तर्फबाट रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेका छन् । अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको छ । विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेका छन् । देशभित्रका व्यवसायिक प्रतिष्ठानले संस्थागत एवं व्यक्तिगत स्तरमा तथा देशबाहिर रहेको नेपाली समुदायले पनि स्वास्थ्य सामग्री उपलब्ध गराउन थाल्नुभएको छ । म यो कार्यको सह्रान गर्दै थप सहयोग परिचालनको आह्वान पनि गर्छु ।  

प्रतिनिधिसभाको २०७६ साल फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय संकल्पका साथ अगाडि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको विदितै छ । थप पहलकदमीका लागि संघीय संसद सदैब तयार छ । यसका लागि आ–आफ्नो ठाउँबाट पहल जारी राख्न सम्पूर्ण माननीय सदस्यहरुलाई आह्वान गर्दछु ।  

सरकारले विभिन्न क्षेत्रलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि सारेको छ । यसको कार्यान्वयनका लागि सबैको साथ आवश्यक छ । दैनिक ज्यालामा निर्भर तथा न्यून आय भएका नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी देखिन्छ । 

यो बिषम परिस्थितिमा अग्रपंक्तिमा रहेर डटिरहनु भएका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरुको उच्च प्रशंसा गर्दछु । उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत् स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिहरुको मनोबल उच्च पारी परीक्षणको दायरा बढाउन आग्रह गर्छु ।  

यो महामारी निश्चय नै लामो समय रहने छैन । तर, यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा हामै्र सामूहिक प्रतिबद्धतामा निर्भर छ । त्यसैले, आत्मानुशासन कायम गरौं र यो महामारीलाई परास्त गरौं । धन्यवाद ! 

अग्नि प्रसाद सापकोटा 
सभामुख

२०७६/१२/१७ 

अपीलको भिडियो


प्रतिक्रिया दिनुहोस्