काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ । मन्त्रालयले अरु रोगबाट समेत मानिसहरुको मृत्यु हुने गरेको भन्दै मृत्यु भएका सबैलाई कोरोनासँग जोड्दा समाजमा कोही मलामी जानेसमेत नपाउने समस्या देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले त्यस्तो प्रचार हुनु दुःखद भएको बताउनुभएकाे छ । ‘जो मरे पनि कोरोनाले भन्ने हल्ला चलाइँदा गाउँघरमा मानिसहरु मलामीसमेत जान छोड्ने अवस्था आएको छ’, कार्कीले भननुभयाे । कोरोना संक्रमण हुँदैमा सबै मानिस मरिहाल्ने नभएकाले धेरै नआत्तिन पनि उहाँले आग्रह गर्नुभएकाे छ ।
कोरोना संक्रमित ८० प्रतिशत मानिसमा कोरोनाले सामान्य रुघाकोखी भन्दा पनि कम असर गर्ने उहाँले दावि गर्नुभएकाे छ । १५ प्रतिशतलाई मात्र अस्पताल भर्ना नगरी आराम गरेर औषधि खाए पुग्ने र बाँकी ५ प्रतिशत मात्र अस्पताल भर्ना हुनुपर्ने उहाँले बताउनुभएकाे छ । डा. कार्कीले हालसम्म विदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण पुष्टि भएकाले स्थानीय रुपमा कोरोना नआइसकेको दाबी समेत गर्नुभएकाे छ ।