कोरोना भाइरसको रोकथामका लागि भन्दै भारतीय सरकारले २१ दिन लकडाउनको घोषणा गरेको छ। लकडाउनको प्रभाव सबैभन्दा बढी त्यहाँका मजदूरलाई परेको छ।
लकडाउनका बीच शहरबाट गाउँ फर्किन लागेका एक युवकको मृत्युको खबर सार्वजनिक भएको छ। देशमा पूर्ण लकडाउन भएपछि ती युवा दिल्लीबाट घर जानका लागि पैदल हिँडेका थिए। तर उनको घर नपुग्दै बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रणवीर सखवार मध्य प्रदेशको मुरैना भन्ने स्थानका व्यक्ति हुन्। उनले दिल्लीको एक होटलमा डेलिभरीको काम गर्दै आएका थिए।
ती युवकको मृत्यु पैदल हिँडेका कारण हृदयघातबाट भएको बताइएको छ। दिल्लीबाट करिब २०० किलोमिटर हिँडेपछि शनिबार ती युवक आगरा भन्ने स्थानमा पुगेका थिए। आगरा पुगेपछि उनको छातिमा पीडा हुन थाल्यो । पछि उनको मृत्यु भएको समाचारमा जनाइएको छ। ती युवा आफ्ना परिवारका आधा दर्जन सदस्यका एक्ला सहारा थिए।
लकडाउन घोषणा भएपछि होटलले उनलाई छुट्टी दियो। घर जान हिँडेका उनले लकडाउनका कारण उनले कुनै गाडी पाएनन्। गाडी नपाएपछि उनी हिँडेरै घर जान तम्सिएका थिए। तर उनको बाटोमै ज्यान गएको हो।