दाङ । नेपाल भारत सीमा क्षेत्र दाङको नाकामा खाद्यान्न अभाव भएपछि देउखुरीबाट खाद्यान्न पठाइएको छ।
दाङका करिब दुई दर्जन सीमा नाकामा बसोबास गर्ने नेपालीहरुका लागि राजपुर गाउँपालिकाले ट्याक्टर र जीपमा खाद्यान्न पठाएको हो।
कोराना भाइरसको सङ्क्रमण जोखिम नियन्त्रणका लागि नेपाल र भारतले लकडाउन गरेपछि नाकामा खाद्यान्नको अभाव भएको हो । भौगोलिक विकटताका कारण दैनिक उपभोग्य वस्तुहरु भारतीय बजारबाट ल्याउने दाङका नाकाका बासिन्दाहरु लकडाउन घोषणासँगै समस्यामा परेका थिए।
दाङका दुई दर्जन नाकाका सबै बस्तीमा खाद्यान्न पु¥याउने गरी लमहीबाट विहान तीनवटा ट्याक्टरमा सामान पठाइएको राजपुर गाउँपालिकाका प्रवक्ता श्याम रोकाले बताउनुभयो। ट्याक्टरमा अति आवश्यक दैनिक उपभोग्य सामग्री चामल, दाल, तेल लगायतका खाद्य सामग्री पठाइएको र गाउँपालिकाको गाडीमा पनि सामान लोड गरिएको रोकाले बताउनुभयो।
‘पहिलो चरणमा सबै नाकामा खाद्यान्न पु¥याउन थालेका छौं, नाकाको वास्तविक रिपोर्ट आएपछि फेरि तरकारीजन्य सामग्री पनि पठाउँछौं, उहाँले भन्नुभयो, अहिले सबै नाकामा नेपालकै भूभाग हुँदै सबै नाकासम्म पुग्ने गरी सडक निर्माण भएकाले सहज भएको छ।।’
नाका क्षेत्रसम्म खाद्यान्न ढुवानीका लागि राजपुर गाउँपालिकाले सहयोग गरेको छ भने देउखुरी उद्योग बाणिज्य संघ, विभिन्न निजी विद्यालयहरुले खाद्यान्न सहयोग गरेका छन्।
बैदेशिक रोजगारीबाट आएकाहरुको तथ्यांक संकलन
यसैबीच राजपुर गाउँपालिकाले बैदेशिक रोजगारीबाट आएकाहरुको तथ्याङ्क संकलन गरिरहेको छ। हालसम्म एक जना बैदेशिक रोजगारीबाट आएका दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ।
बैदेशिक रोजगारीबाट आएका एक ७० जनामध्ये तेस्रो मुलुकबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राख्ने तयारी थालिएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो।
देउखुरीमा पनि अस्थायी कोरोना अस्पताल
यस्तै राप्ती देउखुरीस्तरीय अस्थायी कोरोना अस्पताल निर्माण गरिएको छ। अस्पताललाई जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त चार थान पर्सनल पोटेक्टिभ एक्युपमेन्ट (पीपीई), ५०० थान सर्जिकल मास्क वितरण गरिएको छ। प्रदेश सांसद इन्द्रजित थारुले उक्त सामग्री राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो।
दाङको बेलझुण्डीमा स्थापना गरिएको अस्थायी कोरोना अस्पतालमा स्वाब झिक्न भिडभाड भए देउखुरीको सिसहनियाँको अस्पतालबाट पनि स्वाब लिन मिल्ने गरी तयारी थालिएको प्रदेश सांसद इन्द्रजित थारुले जानकारी दिनुभयो।