आउनुहोस् कोरोनाविरुद्ध संघर्ष गरौं, घरमै बसेर

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ४९


जीवन शाही
दिनभर कम्युटरमै भुम्मिएर बस्दा अलिक धेरै नै आँखा र मस्तिष्कले पट्यार मानिसकेको अवस्था थियो । कोठाभित्र बसेको पनि लगातार तीन÷चार दिन बितिसकेको थियो । पहिलो दिन त अलिकति उकुसमुकुस नै भयो । त्यसपछि अलिअलि बानी परे जस्तो भएको थियो । तर, बाहिर अलिकति आवाज आउँदाबित्तिकै बार्दलीमा जान मन लागिहाल्थ्यो । अहिले भने जति आवाज आउँदा पनि बाहिर बार्दलीमा निस्कन पनि पट्यार लाग्न थालिसकेको छ । म लगातार कम्प्युटरमा नै व्यस्तै भइरहँदा मेरो जीवनसंगीलाई भने उचित लागिरहेको थिएन भन्ने मलाई महशुस भएको थियो ।

त्यसैले बेला–बेला उसको मुखबाट ‘कति कम्प्युटरमै आखाँ च्यातेर हेरिरहेको, आँखाको कमजोरी भाकाले एकछिन त नहेरे पनि हुँदो हो नि ?’ भान्साको काम सँगसँगै दैनिक गृहकार्यमा व्यस्त जीवनसंगिनीका मुखबाट अलिअलि रिस मिसिएको अलिअलि माया मिसिएका शब्दहरु बेला–बेलामा सुनिरहन्छन् । म ती शब्दहरुको प्रवाह नै नगरिकन आफ्नै धुनमा हुन्छु । ऊ भने घरीघरी मुर्मुरिएझैं गर्थी । म चूपचाप आफ्नै गतिमा अघि बढिरहन्थे । कोठामा हामी दुईजना मात्र छौं । बुवा–मुवा, बहिनीसँग कान्छो छोरा रेडियो नेपाल नजिक बस्छ । ठूलो छोरा चाहिँ मामाघरमा बस्छ । स्कुल बिदा भएपछि दुबैजना हामीसँग छैनन् । उनीहरु मसँग भएपछि कम्प्युटर चलाउन नपाउने भएका कारण दुबैजना आ–आफ्नो व्यवस्थापनका लागि हजुरबुवा–हजुरमुमासँग बस्ने गरेका छन् । दुबै भाइ एकठाउँमा लडाभाँती गर्ने भएकाले पनि उनीहरुलाई छुट्टाछुट्टै बस्न पठाउने सल्लाह भएबमोजिम उनीहरु त्यसैगरी नै बसेका छन् । यसकारण पनि हामी दुईजनामात्र कोठामा भएका कारण कोठा प्रायः सुनसान नै हुन्छ । बाहिर सानो आवाज आए पनि अलिक बढी नै टाठो सुनिन्छ । यस्तै–यस्तै परिवेशमा मेरो दिनचर्या बितिरहेको छ । 

घरी निदाउने गरी उठ्ने, अनि कम्प्यु्टरमा झुम्मिने गर्दागर्दै घरभित्र बस्न थालेको चौथो दिनको बिहान भइसकेको थियो । भान्साको कुकरले सिट्ठी मारिहेको थियो । म भने बिछ्यौनामा लमतन्न परिरहेको थिएँ । बाहिर आँगनको हल्ला मेरो कानमा ठोक्कियो । 
‘ए साग राख्नुहोस् साग, ताजा–ताजा खोले साग’ 
मेरो छिमेकी हरिशंकरजी र किराना पसलको साहुजी ‘खै यता ल्याउनुहोस् त खै’ भन्दै थिए । मैले झयालबाट चियाएर हेरें । डोकाभरि साग बोकेकी, खुट्टामा चप्पल समेत नभएकी एक अधवैशे महिला बाटोमा उभिएको देखें । त्यो सँगसँगै वरिपरिका छिमेकीहरु पनि उनी भएतर्फ लम्कँदै थिए । 
त्यतिबेला नै मञ्जु (मेरो जीवनसंगीनी)ले ‘ओ हलो, साग खाने हो ?’
मैले जवाफ फर्काइन । जवाफ नपाउँदा उसले फेरी सोधी– ‘साग खाने हो कि नाई ?’
मैले फेरि पनि जवाफ फर्काइन । उसले फेरि भनी– ‘कस्तो आटो खाई ढाड्या जस्तो केही नबोलेको ?’
अब मलाई बोल्नै पर्ने बाध्यता भयो । ‘होइन घरबाट बाहिर ननिस्कने भनिरहेको बेलामा फेरि किन साग किन्न जानु प¥यो ? जे  छ  त्यही खाए भइहाल्यो नि ।’ 
उसले मेरो प्रतिउत्तरमा भनी, ‘अब यस्तो होला भन्ने थाहा पनि भएन । मसँग पसलमा पनि पैसा थिएन । पसलमा ग्राहक जो चल्दैनथे, अनि पैसा पनि होस कसरी ? आफूले ल्याउने होइन ? भएको दालचामल पनि सकिएला जस्तो भइसक्यो । ग्याँस पनि धिप–धिप गरिहेको छ । अलिदिन चलाउनलाई जोहो त गर्न प¥यो नि भनेर भन्या हो ।’

मैले उसको जवाफ नदिएर हेरिनै रहें । अनि उसले फेरि थपी, ‘छोराहरु छैनन्् । उनीहरु खाइहालछन् ।  जेसुकै होस त मलाई पनि के खाँचो ? ल्याए पकाइदिन्छु । नल्याए म पनि भोकै बसिदिन्छु ।’ यति भनेर ऊ फनफनिँदै बाथरुमतर्फ धुनुपर्ने कपडाको बाँटा बोकेर गई । म केही पनि बोलिन । बोलेको भए निकास उसले पनि निकाल्थी होला तर म बोलिन । अनि मलाई झन् तनाव भयो । एकातिर सामल सकिएको पीडा । अकोतिर खल्ती रित्तिएको बेला । अलिअलि व्यापार हुने पसल पनि बन्द छ । रुपैयाँ आउने स्रोत सबै बन्द । एक्कासी बन्दको घोषणा हुँदा पूर्वतयारी पनि केही गर्न सकिएको थिएन । अब कसरी चलाउने होला दैनिकी भन्ने चिन्ता बढ्यो । 

अब यस्तो संकटमा कसरी ऐंचोपैंचोको कुरा के गर्नु ? कसले पैंचै दिन तयार भएर बस्या होला र भन्ने पनि लाग्यो । सबैलाई यस्तै त होला । 

अब कसो गर्ने होला भनेर सोचिरहेको थिएँ । मेरो मानसपटलमा अनेक चित्रहरु देखापरे । दमकलले बाहिर किटनाशक औषधि छर्किदै घरबाहिर नआउन माइकिङ गरिरहेको थियो । मलाई यस्तो लागिरहेको थियो कि, रंगमञ्चको पर्दा पछाडिबाट कोही अदृश्य भएर बोलिरहेको छ । रंगमञ्च खाली छ । त्यत्तिकैमा मेरो मानसपटलमा त्यही अघिको आवाज घुम्यो, ‘साग राख्नुहोस् साग’ ।
मलाई यति बेला आफ्नो भन्दा पनि ध्यान अन्यत्रै मोडियो । अनि मनमनै गम्न थालें । 

अलिअलि हामी जागिर गर्ने र व्यवसाय गर्नेको हालत त यस्तो छ । झन् दिनभर मजदूरी गरेर जीवन गुजारा गर्नेहरुको हालत के भएको होला ? उनीहरुले कसरी जीवन गुजारा गरिरहेका होलान् ? 
यी र यस्तै प्रश्नहरु मनमा खेलिरहे । 

मैले अनुमान गरें, ‘बिहानै डोकामा साग बेच्न आउने ती अधवैशे उमेरकी महिला त्यसै साग बेच्न आएकी होइनन् । तीनलाई पनि मेरो भन्दा कम्ता समस्या भएर डोकोमा साग बेच्न आएकी होइनन् होला ?
कमसेकम म र मेरो परिवार घरभित्रै त छ । म मनमनै गमें ।
तर उनी सडकमा हाँक हाल्दै हिँडिरहेकी छन् ।
‘यस्तै समस्या भएर नै आएकी होलिन् ।’
‘मेरो जस्तै होइन, मेरोभन्दा बढी समस्या भएर आएकी हुन् ।’ 
हुनेखानेहरुका लागि घरमै बार रेष्टुरेण्टहरु छन् । दिनभर ज्याला मजदुरी गर्नेहरुका लागि त उही दश नङग्रा न खियाएसम्म त केही पनि छैन । मजदूरी गरे पेट भरिन्छ, नत्र भोकै ।
हुनेखानेहरुलाई मास्क र स्यानिटाइजर प्रयोग गरेर १ मिटरको दुरीमा घरभित्रै बसे पनि रोग नसर्ने कुराको ग्यारेण्टी नै छ । विडम्वना ! खुट्टामा चप्पल धरी लाउन नपाएकी ती अधवैंशे महिलाका लागि ढाक्नैपर्ने अंग ढाक्नलाई कपडाको जोहो छैन । केको मास्क ?
खानलाई एक चिम्टी त छैन, केको धुनलाई स्यानिटाइजर ? 
अरुको हातमा साग नपु¥याई बिक्दैन । केको १ मिटरको दुरी कायम गरी बस्नु ?
अब कसरी सम्भव छ, घरमै बसेर रोगविरुद्ध संघर्ष गर्न ?
यहाँ भोकविरुद्ध संघर्ष गर्न हम्मेहम्मे भएका बेला कसरी रोगविरुद्ध संघर्ष गर्नु ? यो नै हाम्रो समाजको वास्तविक यथार्थता हो ।
घरमै बसेर रोगविरुद्ध लड्नका लागि सरकारले ‘लकडाउन’ गरिहेको छ  । सारा शहर सुनसान छन् । सुकिलामुकिलाहरु सडकमा देखिँदैनन् । बरु उनीहरु सामाजिक सञ्जालका भित्तामा देखिन्छन् । जो दैनिक ज्यालादारी गरेर खाने किसान र मजदुरहरु हुन् उनीहरु रित्ता सडकमा देखिन्छन् । उनीहरु रोगविरुद्धको संघर्षमा होइन भोकविरुद्धको संघर्षमा भौतारिरहेका छन् । यसप्रकारको चित्र देखिन्छ अहिलेको लकडाउनको अवस्थामा । अनि कसरी हामी ‘लकडाउन’मार्फत कोरोना भाइरस विरुद्धको युद्ध जित्न  सक्छौं ?
०००
सडकमा घर, परिवार र आफ्नो ज्यानको पर्वाह नगरेर सुरक्षकर्मीहरुले घरभित्र बस्न आव्हन गरिरहेका छन् । हाम्रा नागरिकहरु अन्तर्राष्ट्रिय समाचार एजेन्सीका प्रतिनिधिहरुझैं सामाजिक सञ्जालमा प्रत्यक्ष दृश्य प्रसारण गरिहरेका छन् । यसरी दृश्य प्रसारण गर्दा उनीहरुलाई भाइरसले ज्वाईसाप मान्छ भन्ने ठानेर पो हो कि ?  सञ्चारमाध्यमभन्दा पहिला अपुष्ट समाचारहरु सामाजिक सञ्जालमा छापेर झ्न भ्रमित पारिरहेका छन् । जिउज्यानको प्रवाह नगरेर ड्युटीमा खटिरहेकाहरुको मनोबल गिराउने परिस्थितिको सिर्जना गरिरहेका छन् । यो कति सुहाउँदो हुन्छ ? सरकारले घरभित्र बस भनेको बेला लखरलखर सडकमा डुलिहिँड्नु ? 

मलाई यहाँनेर नागरिकहरुले यसो महशुस गरेजस्तो लागिरहेको छ । सधैं बन्द हड्तालको मार खेपिरहेकाहरुलाई सरकारका विपक्षमा रहेका राजनैतिक दलहरुले आव्हान गरेको नेपाल बन्द जस्तै भान भइरहेको छ, साँझ ५ बजेपछि खुल्ने । बन्द खुलेपछि ह्वार–ह्वारती सडकमा सवारी कुद्ने र मान्छे जम्मा हुने । बेतुकका भाषण छाँट्ने । हामी नेपालीको बानी पनि त्यही त हो नि । सित्तैमा अर्काको खिसिट्युरी गर्न पाएपछि आफै बेवकुफ भएको पनि पत्तो नपाउने बानी ।

प्रायः न्यायप्राप्तिका लागि आयोजना गरिएका बन्दहड्तालमा पत्रकारहरुलाई समाचार संकलनका लागि छुट हुने गर्छ । यो बन्दलाई पनि सर्वसाधारण नागरिकहरुले त्यही प्रकृतिको बन्द ठानेर  हामी पनि सामाजिक सञ्जालका पत्रकार भन्दै सडकमा क्यामेरा बोकेर सेल्फी खिचिरहेका छन् । प्रत्यक्ष प्रसारण गरिरहेका छन् । यसो गर्नुपर्ने बाध्यता किन प¥यो ?
सरकार र आन्दोलनकारीहरुबीचको बन्द त मानव–मानव बीचको बन्द हो । त्यहाँ आन्दोलनकारी र सरकारबीचमा निश्चित एजेण्डाहरुमा रस्साकस्सी चलिरहेको हुन्छ । त्यो रस्साकस्सीका बीचमा झडप पनि हुन्छ । सरकार आन्दोलन नगर भन्छ । सुरक्षाकर्मी परिचालन गरी आन्दोलन मत्थर पार्न कोशिस गर्छ । आन्दोलनकारीहरु सरकारलाई आफ्ना माग पूरा गर भन्छ । त्यसक्रममा सडकमा देखिने आन्दोलनकारीहरुलाई सुरक्षाकर्मीहरुले तितिरबितर पार्छन् । तर, यो नेपाल बन्द ‘लकडाउन’ त सरकार र नागरिक मिलेर कोरोना भाइरसविरुद्ध संघर्षको आन्दोलन हो । यो आततायी भाइरसका विरुद्धको बन्द हो । जसले विश्वलाई नै आज संकटमा धकेलिरहेको छ । भाइरसले आन्दोलन गर, नगर भन्दैन । सोझै आक्रमण गर्छ । यसले थाहै नदिइकन आक्रमण गर्छ । त्यसैले यतिबेला सरकारले सुरक्षाकर्मीहरु मार्फत घरभित्रै बस्न आग्रह गरिरहेको छ । यसलाई बेवास्ता गरी बडो बहादुरीका साथ सुरक्षाकर्मीलाई छलेर घरबाहिर कुदिरहेका छौं ।

हामीले विश्वको इतिहासमा अनेक खालका आन्दोलनहरु देखेका छौं । कतिपय सशस्त्र र कतिपय निःसशस्त्र । ती आन्दोलनहरुले विश्वलाई आमूल परिवर्तनको दिशामा अगाडि बढाएका छन् । चाहे त्यो रुसको औद्यागिक क्रान्ति होस या चीनको ग्रामीण बर्ग संघर्षमा आधारित जनक्रान्ति होस् या नेपालको सशस्त्र संघर्ष होस या जनआन्दोलन । यी आन्दोलन र संघर्षहरुको महत्व आफ्नै प्रकारको छ । यी आन्दोलन मानवजातिभित्रकै आन्दोलन र संघर्षहरु थिए । यी संघर्षहरु वर्गविभेदका विरुद्ध थिए । र, ती आन्दोलन र संघर्षका कार्यक्रमहरु बेग्लै थिए । मलाई लाग्छ, अहिले हामी पनि एउटा आन्दोलनमा छौं । यो आन्दोलन विगतका आन्दोलन भन्दा भिन्न छ । यो आन्दोलन सम्पूर्ण मानवजातिको रक्षाका लागि, त्यो आततायी कोराना भाइरसका विरुद्धको आन्दोलन हो । यस आन्दोलनमा हामीले ठूलो बलिदानी केही दिनुपर्ने छैन । यसका विरुद्ध हामीले शान्तिपूर्ण तवरबाट संघर्ष गर्नुपर्ने छ । हामीले हतियार बोक्नुपर्ने छैन । हामीले सडक जाम गर्नुपर्ने छैन । यस विरुद्धको विजयका लागि हामीले घरमै अनशन बस्नुपर्ने छ । हामीले घरबाहिर निस्कनु पर्ने छैन । यदि हामीले यसो ग¥यौं भने हाम्रो आन्दोलनले विजय हासिल गर्ने छ । कोभिड–१९ कोरोना भाइरसले हामीबाट पराजय भोग्ने छ । हामीले त्यसका विरुद्ध आयोजना गरेको हड्तालको अन्त्य हुने छ । अनि हामी हर्षका साथ पुरानै दिनचर्यामा फर्किने छौं । यसका लागि आन्दोलनको नेतृत्व गरिरहेको हाम्रो सरकारलाई सहयोग गर्नुपर्दछ  । सरकारले दिएको निर्देशनको हामीले पालना गर्नु पर्दछ ।
०००
यी हरफहरु लेखिरहँदा यो आततायी भाइरसका कारण २७७६२ जनाले मृत्यवरण गरिसकेका छन् । ५९८०७० जना संक्रमित छन् भने १३१७७२ जना निको भएका छन् । जसमध्ये हाम्रो मुलकमा अहिलेसम्म ५ जनालाई संक्रमण फेला परेको छ र १ जना निको भएका छन् । विश्वका महाशक्ति राष्ट्रहरुलाई यसले हम्मेहम्मे पारेको छ । विश्वकै सबैभन्दा शक्तिशाली ठान्ने मुलुक अमेरिका कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र बनेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसका १८ हजार ६ सय ९१ जना नयाँ संक्रमित फेला परेका छन् भने एकैदिन ४ सय जनाको ज्यान गइसकेकोे छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार १२६ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ सय ९५ पुगेको छ । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या सबैभन्दा प्रभावित मुलुक चीन र इटाली भन्दा बढी हो । कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा ८१ हजार ३ सय ९४ जना संक्रमित भएका छन् भने इटलीमा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । इटलीले आफ्नो मुलुकमा कोरानाको प्रभावलाई ध्यान नदिँदा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना भयो । यसर्थ पूँजी र प्रविधिले सम्पन्न राष्ट्रलाई ¥याख¥याख पारिरहेको बेला हाम्रो जस्तो ‘भगवान भरोसे’ देशमा हामी आफैले सरकारको निर्देशनलाई पालना गरेनौ या हामी आफै सजग भएनौं भने यो भाइरसले नरसंहार मच्चाउने छ  ।

हाम्रो कोरानाविरुद्ध संघर्षको आन्दोलनको मुख्य कार्यक्रम भनेको लकडाउन  हो । यसलाई सफल पार्नको लागि बोलेर मात्र हुँदैन । काम गरेर पनि देखाउने गर्नुपर्छ ।  आज मेहनतकश जनता रोगलेभन्दा पहिला भोकले मर्ने समस्या देखिएको छ । ‘मर्नु भन्दा बहुलाउनु वेश’ भनेझैं दैनिक चुलो चलाउने सामग्रीका लागि समस्या भएकाहरु लकडाउनको बेवास्ता गरेर सडकमा छन् । घरभित्र होइन, घरबाहिर छन् । एक ठाउँमा मात्र सीमित होइन, सयौं ठाउँमा डुलेका छन् । यसको मुख्य कारण भनेको रासनको समस्या हो । ‘खाउँ भन्या खुर्सानी छैन, बजारको डेरा’ भन्ने उखानझै भएको छ । पकाउनलाई रासन छैन । रासन किन्न पैसा छैन । यस्तो अवस्थामा भएकाहरु कसरी घरभित्र भोकै बस्न सक्छन् ? यसर्थ जनतालाई घरमै राशन पु¥याउने व्यवस्था गरेर अगाडि बढ्ने हो भने यस महामारीविरुद्धको संघर्षमा सफलता प्राप्त गर्न कठिन छैन । अन्यथा यो निकै ठूलो चूनौतीका रुपमा खडा हुनेछ  ।  

यस बखतमा हुने गरेका दैनिक जीवनयापनको समस्या भएकाहरुको लगत संकलन गरी स्थानीय सरकारका जनस्तरसम्म पुग्ने निकायमार्फत बाँच्नका लागि चाहिने खानाको व्यवस्था गरेमा लकडाउन पूर्णरुपमा सफल हुनेछ र हाम्रो कोरोना विरुद्धको संघर्षले पनि सार्थकता पाउने छ । यसो भयो भने मेरो परिवारमा उत्पन्न भएको समस्या जस्तै हजारौं परिवारको समस्या हल हुनेछ । डोकोमा साग बेच्न हिँड्ने ती अधवैंशे महिलाको समस्या पनि समाधान हुनेछ । यी र यस्तै समस्याको समाधान भएमा लकडाउनले सार्थकता पाउनेछ । मुलुकले कोरोनाविरुद्धको संघर्षमा विजय प्राप्त गर्नेछ ।
सरकारको समस्या नागरिकले र नागरिकको समस्या सरकारले बुझेर कोरोना विरुद्धको संद्धर्षमा सँगसँगै अघि बढ्यौं भने हाम्रो मुलुकले सफलता प्राप्त गर्नेछ । हिजो चिनियाँ सरकार र त्यहाँका नागरिकहरुको एकताले नै संसारले ध्वस्त भयो भनेको मुलुकल आज तंग्रिसकेको छ । ऊ ध्वस्त भयो भन्नेहरु आज आफै ध्वस्त हुँदैछन् । सामान्य लापरर्वाहीले आज इटलीले ठूलो क्षति व्यहोर्नु परेको छ । आज सिंगो विश्व आक्रान्त बनेको छ । त्यसैले सरकारको निर्देशनलाई पालना गर्दै उसका सकारात्मक क्रियाकलापको अनुशरण गर्दै, कमजोरीहरुमा खबरदारी गराउँदै । आउनुहोस्, कोरोनाविरुद्धको संघर्ष घरमै बसेर लडौं ।   
 


प्रतिक्रिया दिनुहोस्