काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लक डाउनको समय बढाउन सरकारलाई सिफारिस गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आईतबार बसेको बैठकले तत्कालका लागि लकडाउनको समय बढाउनुपर्ने देखिएको भन्दै यस्तो सिफारिस गरेको हो।
कति थप गर्ने भन्ने सम्बन्धमा भने केही खुलाईएको छैन।
कोरोना भाइरस संक्रमणको नियन्त्रण लकडाउनबाटमात्रै सहज र संभव भएको र छिमेकी मुलुक भारतले पनि लकडाउनको समय बढाएकाले नेपालले पनि बढाउनुपर्ने निष्कर्षमा समिति पुगेको हो।
लकडाउनको समय कति थप गर्ने भन्ने सम्बन्धमा अहिले केही बेरमा बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो ।
समितिले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय बढाएर २०७७ बैशाख ३ गते सम्म पुर्याएको छ।
अन्तराष्ट्रिय हवाई उडानको प्रतिबन्ध अप्रिल १५ अर्थात् बैशाख ३ गते सम्मका लागि थप गरेको हो । यसअघि सरकारले चैत ९ गते देखि १८ गते सम्मका लागि सबै अन्तराष्ट्रिय उडानमा रोक लगाएको थियो ।
त्यसैगरी तोकिएको मापदण्ड अनुरुप क्वारेन्टाईन निर्माण गरि व्यवस्थित ढंगले सञ्चालन गर्ने र संक्रमति व्यक्ति आएर सुचना नदिने, क्वारेन्टाईनबाट भाग्ने, लुकेर बस्ने जति सम्पर्कमा आउन अनुरोध गरेपनि नआउनेलाई संक्रमण रोग ऐन बमोजिम कैद सजाय गर्न गृह प्रशासनलाई निर्देशन दिएको छ ।
क्वारेन्टाईनमा बसेकाहरु भाग्ने, विदेशबाट आएर पनि क्वारेन्टाईनमा नबस्ने, सम्पर्कमा आउन सरकारले गरेको अनुरोध अटेरी गरी समुहमा घुमफिर गर्ने क्रम बढेपछि सरकार त्यस्ता व्यक्ति विरुद्ध कडा ढंगले प्रस्तुत हुने भएको हो ।
भारतीय सुरक्षाकर्मीबाट नेपाल तर्फ पठाईएका तर नेपाल प्रवेश नपाएर दशगजामा अलपत्र परेका नागरिकहरुलाई परिचय पत्रको आधारमा पहिचान गरि नजिकको स्थानीय तहमा अनिवार्य क्वारेन्टाईनमा बस्ने गरि नेपाल प्रवेश गर्न दिने निर्णय पनि भएको छ।
विदेशमा रहेका विद्यार्थीलाई भने तत्कालका लागि जहा जे जस्तो अवस्थामा छ उही अवस्थामा रहने र आवश्यक पर्ने खर्च अभिभावकबाट नेपाल राष्ट्रबैकले पठाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।
उनीहरुलाई स्थिति स्थिति सामान्य भएपछि मात्रै नेपाल फर्कन सक्ने गरि व्यवस्था मिलाईने भएको छ।
त्यसैगरी चीनबाट ल्याईएका औषधी, पिपिई लगायतका सामाग्रीहरु तत्काल प्रदेशमा पठाउने निर्णय पनि बैठकले गरेको छ।
नेपालबाट गएको वाडइवडी विमानबाट ल्याईएका ५ थान पोर्टेबल पिसिआर मेसिन मध्येबाट प्रदेश नम्बर २ मा १ थान , प्रदेश नम्बर ५ मा १ थान, सुर्खेतमा रहने गरि कर्णाली प्रदेशमा १ थान, र सुदुर पश्चिम प्रदेशमा १ थान पठाउने निर्णय पनि बैठकले गरेको छ ।
बाँकी एक थान काठमाण्डौमा राखेर अवस्था र आवश्यकता हेरेर थप निर्णय गरिने भएको छ । हरेक प्रदेशमा प्रति प्रदेश १ हजार थान पिपिई लगायतका सम्पुर्ण सामाग्रीहरु पठाईने भएको छ ।
श्रमिक, मजदुर र पेशा व्यवसायीका लागि राहत प्याकेज ल्याउने तथा आफूर्तिलाई सहज बनाउने, अपचलन हुन नदिने, खाद्य लगायत अत्यावश्यक वस्तु र औषधीहरुलाई नियमति आपूर्तिको व्यवस्था गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको सचिव विडारीले जानकारी दिनुभयो ।