काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएकाहरुको पहिचान तथा संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याइएको छ।
स्वास्थ्य सामग्री लिन शनिबार चीन पुगेको नेपाल वायु सेवा निगमको जहाजले आइतबार बिहानै स्वास्थ्य सामग्री ल्याएको हो।
सरकारले खरिद गरेको तथा चीनको सिचुवान प्रान्त, चिनियाँ राजदूतावास, ज्याक मा फाउन्डेसन लगायतले सहयोग गरेको विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज आइतबार बिहान ५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।
कोरोना परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीईलगायत १२.६६ टन मेडिकल सामग्री, अन्य वस्तु जहाजमार्फत ल्याइएको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार एन–९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमुना संकलन गर्ने किटलगायत सामग्री ल्याइएको छ।
उहाँका अनुसार यो पहिलो चरणमा ल्याइएका सामग्रीहरू हुन्।
सरकारले के के सामग्री किन्यो ?
सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्रीहरुमा गगल्स प्रोटेक्टिभ (बिरामीको स्वास्थ्य परीक्षण गर्दा आँखाको सुरक्षाको लागि) ५ हजार थान रहेका छन्।
क्लोरिन एनएडिसीसीलगायत ४ हजार, सुरक्षित खालको गाउन १० हजार, परीक्षण गर्दा लगाउने पञ्जा १ लाख जोडी छन्।
त्यस्तै रेस्पिरेटर मास्कलगायत ५० हजार, इन्फ्रारेड थर्मोमिटर (नछोइकन ज्वरो नाप्न मिल्ने) १ हजार वटा, प्रोटेबल पिसिआर ५ वटा, प्रोटेबल पिसिआर रियाजेन्ट किट (कम्बो) २० हजार वटा, विभिन्न खालका पिसिआर रियाजेन्ट १० हजार रहेका छन्।
भिटियाम १० हजार र कोभिड-१९ पत्ता लगाउने किट ७५ हजार थान रहेका छन्। यी सबै सामग्री नेपाल सरकारले आफैंले किनेको हो।
चीनको सहयोग
चीनको सिचुवान प्रान्त, नेपालस्थित चिनियाँ दूतावास, ज्याक मा फाउन्डेसनले अनुदानमा नेपाललाई कोरोनाको परीक्षण र उपचारमा प्रयोग हुने विभिन्न सामग्रीहरु दिएका छन्।
सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले दुई हजार थान एन–९५ मास्क र २४ हजार थान डिस्पोजल सर्जिकल मास्क, २० हजार थान डिस्पोजल मास्क, ५०० थान प्रोटेक्टिभ गगल्स, नन कन्ट्याक्ट इफ्रारेड थर्मोमिटर १०० थान, इयर थर्मोमिटर १०० थान, क्लोरिन फोस्फेट ट्याब्लेट ४ सय बक्स, प्रोटेक्टिभ क्लोथिङ ५३० थान, पोर्टेवल भेन्टिलेटर १ थान दिएको छ।
त्यसैगरी, चिनियाँ इन्जिनियरिङ कम्पनीले प्रोटेक्टिङ क्लोथिङ २०० थान, डिस्पोजल सर्जिकल मास्क २० हजार थान, प्रोटेक्टिभ गगल्स २०० सय थान, डिस्पोजल ग्लोब्स २ हजार थान दिएको छ।
यस्तै, सिचुवान ह्वान्सी ग्रुपले २० हजार थान डिस्पोजल सर्जिकल मास्क दिएको छ।
होङ्सी सिमेन्ट कम्पनी लिमिटेडले एक हजार थान प्रोटेक्टिभ क्लोथिङ र टेष्टिङ किट ३ हजार थान दिएको छ।
यसैगरी, अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माको ज्याक मा फाउन्डेसनले एक लाख बढी एन–९५ मास्क, २० हजार ६४ वटा टेष्टिङ किट दिएका छन्।
चीनको सहयोग स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण
यसैबीच कोरोना भाइरस विरुद्धको लडाईंका लागि चीनले पठाएको स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ।
नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री ढकाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे चिनियाँ राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपालसँगै अन्तरराष्ट्रिय स्तरमा नै सहयोग गर्न तयार रहेको बताउनुभयो।
सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रशंसा गर्दै सहयोगी सबैलाई धन्यवद व्यक्त गर्नुभयो।