काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसहित विश्वका १९९ देशमा फैलिएको छ। यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट विश्वभर २८ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ भने ६ लाख १७ हजार २८८ जनामा संक्रमणको पुष्टी भएको छ। नेपालमा पनि कोरोना भाइरसका ५ जना संक्रमित फेला परेका छन्।
कोरोना भाइरसको संक्रमण भेटिएका ५ जना मध्ये एक जनालाई निको भएको छ भने ४ जनाको उपचार भइरहेको छ। नेपालमा हालसम्म ८७५ वटा कोरोना भाइरसको टेस्ट भएका मध्ये ५ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको हो। अब ३२ वटा नमुना परीक्षणको क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता विकास देवकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १० जना आइसोलेशन वार्डमा रहेका छन्।
यी हुन् नेपालमा भेटिएका ५ जना संक्रमित
पहिलो संक्रमित
नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण जनवरी २३ तारिखमा फेला परेको थियो। चीनको हुवानबाट स्वदेश फर्किएका एक नेपाली युवकमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो। नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो। सेन्टरले जनवरी २३ मा प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले जनवरी २४ मा पत्रकार सम्मेलन गरेर संक्रमण भएको पुष्टी गरेको थियो।
त्यो बेला नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास नभइसकेकाले उनको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो। व्यक्तिगत गोपनीयताका कारण उनका बारेमा अन्य विवरण सार्वजनिक गरिएको थिएन्। अहिले उनी उपचार पनि निको भएर घर फर्किएका छन्। शुक्रराज ट्रपिकल अस्पतालमा चेकजाँचका लागि गएका ती युवकलाई ज्वरो र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएको थियो।
दोस्रो संक्रमित
चैत ४ गते कतार एयरवेजको विमानबाट काठमाडौँ आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन्। १० गते उनको कोरोना संक्रमणको रिर्पोट पोजेटिभ आएको थियो।
टेकुस्थित आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।
तेस्रो संक्रमित
नेपालमा तेस्रो पटक कोरोना भाइरसको संक्रमण धादिङका एक व्यक्तिमा भेटिएको थियो। चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर ९५३७ बाट काठमाडौँ आएका ३२ वर्षीय व्यक्तिमा कोरोना भाइरसको रिर्पोट पोजेटिभ पाइएको थियो। नेपाल आएपछि ती व्यक्ति काठमाडौँको एक होटलमा बसेको थिए। स्वास्थ्यमा समस्या आएपछि उनी गत मंगलबार टेकु अस्पताल पुगेका थिए। उनको बुधबार कोरोना रिर्पोट पोजेटिभ आएको थियो। उनको पनि अहिले टेकुमै उपचार भइरहेको छ।
चौथो संक्रमित
शुक्रबार नेपालमा कोरोना भाइरसका चौथो संक्रमित भेटिएका थिए। यी कोरोनाका चौथो संक्रमित पहिलो पटक उपत्यका बाहिर फेला परेका हुन्। गत चैत ७ गते भारतको दिल्ली हुँदै काठमाडौँ आएर धनगढी पुगेका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको थियो। अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ।
काठमाडौँ आइसकेपछि ती व्यक्ति एक दिन यही बसेर दोस्रो दिन बुद्ध एयरको विमानबाट नेपालगञ्ज र बसबाट धनगढी पुगेका थिए।
पाँचौ संक्रमित
आज अर्थात शनिबार नेपालमा कोरोना भाइरसका पाँचौ संक्रमित फेला परेका छन्। बेल्जियमबाट आएकी बागलुङकी युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको हो। ती युवती दोस्रो कोरोना भाइरसको पुष्टी भएकी १९ वर्षीय युवतीसँगै एउटै विमानमा नेपाल आएकी थिइन्। ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएको बताइएको छ। काठमाडौँ बाहिर कोरोना भाइरसको संक्रमण भेटिएको यो दोस्रो केस हो।
चैत १० गते बेलुकी ज्वरो आएपछि सदरमुकामबाट डाक्टरहरु घरमै आएर कफ जाँच्न भन्दै नमुला लिएर गएका थिए। त्यसपछि उनमा कोरोना भाइरसको संक्रमण भेटिएको डाक्टरले फोन गरेर खबर गरेका थिए। उनलाई अहिले उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको उनका परिवारले जानकारी दिएका छन्।