कोरोनाका कारण विश्वव्यापी रुपमा कण्डमको अभाव देखिदै

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : ०५


क्वालालम्पुर (रोयटर्स) । कोरोना भाइरस संक्रमणका बीच कन्डमको विश्वव्यापी अभाव बढ्दै गएको छ।

कोरोनाले विश्वको सबैभन्दा ठूलो उत्पादक मलेसियाली कम्पनीलाई तालाबन्दी गर्न बाध्यपारेपछि त्यसको असर बजारमा देखिन थालेको छ।

समाचार संस्था रोयटर्सका अनुसार विश्वमा सबैभन्दा बढी कन्डम उत्पादन गर्ने मलेसियाली कम्पनी कारेक्स बीएचडीले पछिल्ला हप्तामा एउटा पनि कण्डम उत्पादन गरेको छैन।

जोखिमका बीच उक्त कम्पनी बन्द हुँदा हाल १० करोड कण्डम निर्माणमा कमी आएको  बताइएको छ।

समाचारमा बताइए अनुसार विश्वका ५ कण्डममा १ कण्डम मलेसियाली कम्पनी बीएचडीले निर्माण गर्ने गरेको छ।

कोरोनाका कारण विश्वभरका कण्डम कम्पनी बन्द हुँदा त्यसको असर बजारमा देखिन थालेको हो।

कोरोना भाइरसको फैलावट रोक्न मलेसियाको सरकारले लकडाउन आदेश जारी गरेको छ।

बजारमा कण्डमको अभाव देखिएपछि लकडाउनकै बीच शुक्रबार सरकारले ५० प्रतिशत कामदार प्रयोग गरि उत्पादन जारी राख्न उक्त कम्पनीलाईअनुमति दिएको छ।

आधा जनशक्तिलाई प्रयोग गरेर उक्त कम्पनीलाई कण्डम उत्पादन गर्न तत्कालका लागि अनुमति दिइएको हो।

कम्पनीका सिइओ गो मिया कितले रोयटर्सलाई बताए अनुसार आधा जनशक्तिले कारखाना सञ्चालन गर्दा बजारको मागलाई धान्न समय लाग्ने छ।

उनले भनेका छन् , 'हामी सबै ठाउँमा कन्डमको अभाव देखिरहेका छौं, जुन डरलाग्दो छ'।

कण्डमको अभाव एक/दुई हप्ता नभइ महिनौंसम्म हुनसक्ने कम्पनीले जनाएको छ।

मलेसियामा २१६१ जनाका कोरोना संक्रमण पुस्टि भएको छ भने २६ जनाको मृत्यु भइसकेको छ।

मलेसिया बाहेक अन्य प्रमुख कन्डम उत्पादक कम्पनीहरु चीन, भारत र थाइल्याण्डमा छन्।

ती देशहरुमा समेत बढ्दो कोरोना संक्रमणको जोखिमले उत्पादन एवं निर्यातमा समस्या भएको छ।

 


प्रतिक्रिया दिनुहोस्