कोरोना भाइरसको महामारीले विश्व त्रसित छ। अहिलेसम्म १९९ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने ५ लाख ९७ हजार ४५८ जना संक्रमित भेटिएका छन्।
कोरोनाको महामारीसँगै विभिन्न अपवाह पनि फैलिएका छन्। यसै क्रममा कोरोना भाइरसको अफवाहले इरानमा ३०० जनाको ज्यान लिएको छ। कोरोना भाइरसको संक्रमण ठिक पार्ने भन्दै नशालु पदार्थ सेवन गर्दा इरानमा ३०० जनाको ज्यान गएको हो भने एक हजार बढी विरामी भएका हुन्।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार इस्लामिक रिपब्लिक अफ इरानमा मेथेनल नामक नशालु पदार्थको सेवनले ती व्यक्तिको मृत्यु भएको हो। मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ। इरानमा नशालु पदार्थ प्रतिबन्ध लगाइएको थियो। तर पनि कोरोना भाइरस ठिक पार्ने भन्दै मानिसहरुले उक्त पदार्थ सेवन गरेको पाइएको छ।
पछिल्लो समय इरानमा नशालु पदार्थ पिउँदा कोरोना भाइरस ठिक हुने भन्दै अफवाह फैलिएको थियो। उक्त अफवाहको पछि लागेर मानिसहरुले धमाधम उक्त नशालु पदार्थ सेवन गरेका थिए।
इरानमा कोरोना भाइरसबाट ३२ हजार ३ सय ३२ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ७८ जनाको मृत्यु भइसकेको छ।