गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंका गरेका १३ जनाको रिर्पोट आयो

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : ०४


कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ  आएको छ ।  

प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिनुभयो । उहाँले बाँकीको रिपोर्ट केही दिनमा आउने बताउनुभयो । 

यसैबीच कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका  विश्वमोहन नेपालीको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । एघार दिनअघि भारतको हैदराबादबाट आउनुभएका  नेपालीलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । 

दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले  पाँच प्रकारका औषधि सेवन गरिरहनुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा  बाटामै मृत्यु भएको थियो । 

उहाँको मृत्युमा धेरैले कोरोनाको शंका गरेका थिए । गाउँपालिकाले बिहीबार नेपालीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु अस्पताल   पठाएको थियो । शुक्रबार आएको नेपालीको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टअनुसार मृतक नेपालीमा कोरोना संक्रमण  नभएको पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्