२७ वर्ष पहिले कोरोनाको औषधि बनेको दावी गर्ने व्यक्ति प्रहरीको फन्दामा

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : ४४


एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध औषधिको फर्मुला पत्ता लगाएको दावी गर्ने एक व्यक्तिलाई उत्तर प्रदेश प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती व्यक्तिले कोरोनाको औषधि २७ वर्ष पहिले नै बनिसकेको र आफूले ६ वर्ष पहिलेदेखि नै उक्त औषधि सेवन गर्दै आएको दावी गरेका थिए । सामाजिक सञ्जालमा भाइरल बनेको त्यस्तो दावी गरिएको ती व्यक्तिको भिडियोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त औषधिको फर्मुला दिने बताएका छन् ।
 
मेरठस्थित जानी थानाका प्रहरीले कोरोना भाइरसबारे भ्रमित गरेको भन्दै ती युवकलाई पक्राउ गरेको छ । पक्राउ गरेर ती व्यक्तिलाई जेल पठाइएको छ । जानी पुलिसले फेसबुकमा कोरोना भाइरसविरुद्ध औषधिको फर्मुला तयार भएको भिडियो बनाउने पवनकुमार यादव अर्थात पवन दासलाई गिरफ्तार गरेको हो ।

पक्राउ परेका यी व्यक्तिले भिडियोमा आफ्नो नाम पवन दास बताएका छन् । उनी मेरठको बागपत रोड निवासी हुन् । पवन दासले आफूले बनाएको औषधिले शतप्रतिशत कोरोना भाइरसलाई समाप्त गर्न सक्षम भएको दावी गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश दिँदै कोरोनामात्र होइन कुनै पनि भाइरसलाई आफूले बनाएको औषधिले समाप्त पार्ने दावी गरेका छन् ।

यसका साथै उनले कोरोना कुनै ठूलो कुरा नभएको र त्यो कुनै महामारी नभएको दावी गरेका छन् । संसारमा जब कुनै संकट आउँछ, त्यसको समाधान भारतले नै गर्दै आएको दावी गर्दै पवन दासले भारतमा कोरोनाको यो औषधि २७ वर्ष पहिले नै बनेको दावी गरेका छन् ।

पक्राउ परेका व्यक्ति पवन दासले आफ्नो दुकान मेरठको बागपत रोडमा रहेको र प्रधानमन्त्री नरेन्द्र मोदी त्यहीं आएर आफूलाई भेट्नसक्ने बताएका थिए । ती व्यक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग निवेदन गर्दै आफू परीक्षणका लागि तयार रहेको र ६ वर्षदेखि उक्त औषधि सेवन गरिरहेको बताएका थिए ।

उक्त व्यक्रिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गर्दै आफूलाई कोरोनाका विरामीको बीचमा जति दिन राखे पनि आफूलाई केही नहुने दावी गरेका छन् । उनले कोरोनाका विरामीमाझ आफूलाई जति दिन छोडे पनि केही नहुने र त्यसपछि मोदीले पनि कोरोनाको औषधि भनेर मान्न वाध्य हुनुपर्ने बताएका छन् । अझ अगाडि बढेर उनले यदि आफू मरेमा वा केही भएमा त्यसको जिम्मेवार आफै हुने पनि बताएका छन् । पक्राउ परेका व्यक्ति पवन दासले परीक्षण पूरा भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकान्तमा औषधिको फर्मुला बताउने उल्लेख गरेका छन् ।

मेरठका एसपी अविनाश पाण्डेयका अनुसार यी व्यक्तिले भनेको स्थानमा पुग्दा ती व्यक्ति गायब भइसकेका थिए ।  कसैले पनि पवन दासको बारेमा केही बताउन सकेनन् । भिडियोमा उल्लेख गरिएको दुकान त्यस समय बन्द थियो । तैपनि प्रहरीले उनको खोजी जारी राखेको थियो । शुक्रवार पुलिसले पवन दासलाई पक्राउ गरेर जेल पठाएको छ ।
 


प्रतिक्रिया दिनुहोस्