नेपालकै कान्छा वडाध्यक्ष खाद्यान्न बोकेर सिमाक्षेत्रमा

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ४४


शिवु खनाल 
दाङ । भारतसँग जोडिएका दाङका २६ वटा नाका बन्द भएपछि नाकामा खाद्यान्नको चरम अभाव हुन थालेको छ । घरमा रहेको खाद्यान्न सकिन थालेपछि नाकाबासीहरुमा छट्पटी शुरु भएको हो । भारतीय बजारमा दैनिकरुपमा निर्भर हुने नाकाबासीहरूको घरमा खाद्यान्न सकिन थालेपछि यतिबेला मर्कामा परेका छन् । 

यता दाङको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्धिकीले आफ्नो ब्यक्तिगत लगानीमा करिब ३५ हजार बराबरको खाद्यान्नको सामान खरिद गरी कोइलाबास नाका पुग्नुभएको छ । सिद्दिकी नेपालकै कान्छा वडाध्यक्ष पनि हुनुहुन्छ ।

वडाध्यक्ष सिद्धिकीले भन्नुभयो, ‘वडामा रहेका अति विपन्न घरपरिवारलाई निशुल्क खाद्यान्न वितरण गर्ने र पैसा भएर पनि लकडाउनका कारण राशन लिन आउन नसकेकालाई खरिद मूल्यमै खाद्यान्न उपलब्ध गराउने हो ।’ नाकामा छिमेकी राष्ट्र भारतीय बजारबाट ल्याएका खाद्यान्नका सबै सामान सकियो । गाउँमा खाद्यान्नको हाहाकार हुन थाल्यो । म जनप्रतिनिधि भएको नाताले यो भूमिका खेल्न बाध्य भएँ’, वडाध्यक्ष सिद्धिकीले भन्नुभयो । 

शुक्रवार वडाध्यक्ष सिद्धिकीले आफ्नै निजी गाडीमा ३ क्वीन्टल चामल, २४ लिटर खाने तेल, १५ थैला पिठो, एक पेटी अण्डा, ५ हजारको रिचार्ज कार्ड, ३० किलो आलु, ३० लिटर दूध, १० किलो टमाटर र अन्य तरकारी खरिद गरिएको छ । उक्त कार्यमा वडा नम्बर ६ का वडाध्यक्ष बालचन्द्र हमाल ठकुरीले बन्दको बेला गढवा बजारको खाद्यान्न पसल खुलाएर सहयोग गरेको सिद्धिकीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्