पचास लाखको राहत कोष स्थापना गर्दै लमही नगरपालिका

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : १७


शिवु खनाल
दाङ । लमही नगरपालिकाले ५० लाखको राहत कोष स्थापना गर्न थालेको छ । शुक्रवार लमही नगरपालिका प्रमुख तथा विपत व्यवस्थापन समितिका संयोजक कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता बिमबहादुर केसीले जानकारी दिनुभयो ।

बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तिहरुको व्यवस्थापनको लागि लमही नगरपालिकाको तर्फबाट उक्त राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले ३५ हजार, उपप्रमुख देवका बेल्वासेले ३० हजार, वडा नम्बर १ का अध्यक्ष नुमराज पौडेलले २५ हजार, २ का वडाध्यक्ष नेपालु चौधरीले २५ हजार, ३ का वडाध्यक्ष बाबुराम चौधरीले २५ हजार, ४ का वडाध्यक्ष सुबास न्यौपानेले २५ हजार, ५ का वडाध्यक्ष बिमबहादुर केसीले २५ हजार, ६ का वडाध्यक्ष गणेशमान चौधरीले २५ हजार, ७ का वडाध्यक्ष मोहन गिरीले २५ हजार, ८ का वडाध्यक्ष मेघनाराण चौधरीले २५ हजार र ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले २५ हजार जम्मा गर्नुहुने भएको छ ।  

उक्त राहत कोषको खाता नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने निर्णय गएिको छ । बैठकले लमही नगरपालिका क्षेत्रभित्र राहतलाई सहजरुपमा वितरण गर्ने प्रयोजनका लागि अति विपन्न घरपरिवार पहिचान र विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलनका लागि वडास्तरीय विपद् व्यवस्थापन समिति, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुलाई परिचालन गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

प्रवक्ता बिमबहादुर केसीका अनुसार नगर क्षेत्रभित्र रहेका शंकास्पद व्यक्तिलाई राख्नको लागि देउखुरी बहुमुखी क्याम्पसको भवनमा ३० बेडको क्वारेन्टाइन निर्माण गर्ने, मेडिकल व्यवसायीहरुले पसल बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुल्ला गर्ने निर्णय गरे तापनि अहिलेको यस संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजे सम्म पसल खोल्न औष्धि व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ । नगर क्षेत्रभित्र रहेका दैनिक उपभोग्य सामाग्री बिक्रीवितरण गर्ने व्यवसायीहरुलाई बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टा पसल खोल्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, जिल्ला सुरक्षा समितिको चैत १३ गते बसेको बैठकको निर्णयअनुसार आइसुलेसनमा राखिएको व्यक्तिलाई खाना खुवाउने लगायतका सामग्री उपलब्ध गराउने प्रयोजनका लागि १ लाख रकम उपलब्ध गराउने निर्णय पनि लमही नगरपालिकाले गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस्