महालक्ष्मीमा ४० लिटर स्यानीटाइजर वितरण

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : २६


ललितपुर । महालक्ष्मी नगरपालिकाले आफ्नै नगर क्षेत्रमा उत्पादित ४० लिटर घरेलु स्यानिटाइजर वितरण गरिसकेको  छ । कोभिड–१९ को जोखिम नगरपालिकामा भित्रन नदिन महालक्ष्मीले उक्त काम गरेको हो ।  विश्व स्वास्थ्य सङ्गठनको मान्यतानुरुप नगरपालिकामा स्यानिटाइजर  बनाई वितरण गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा सङ्गठनमा कार्यरत व्यक्तिसँग छलफल गरी स्यानिटाइजर बनाउने कामलाई धमाधम निरन्तरता  दिइरहेका छौं।” थप स्यानिटाइजर बनाउन आवश्यक कच्चा सामग्री ल्याउने क्रम अघि बढिरहेको श्रेष्ठले जानकारी दिनुभयो।

एक लाख मास्क 

नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नगरपालिकाले एक लाख मास्क उत्पादन गर्ने लक्ष्य लिएको उपप्रमुख निर्मला थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यहाँका केही आमा र महिला समूहका दिदीबहिनीलाई मास्क बनाउने तालीम दिएर काम लगाइरहेका छौं। यस कार्यअन्तर्गत हालसम्म १५ हजार मास्क उत्पादन गरी वितरणसमेत गरिसकेका छौं।” महालक्ष्मीले वडा नं ८ लुभुमा उत्पादित स्थानीय कपडाबाट मास्क बनाएर निःशुल्क वितरण गरिरहेको थापाले जानकारी दिनुभयो । 

महालक्ष्मीमा हाल दैनिक नौ सयदेखि एक हजार मास्क उत्पादन हुने गरेको बताइएको छ। नगरपालिकाले पहिलो चरणमा केही मास्क उत्पादन गरी ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी वितरण गर्यो। “अब भटाभट उत्पादन हुँदै गरेका मास्क भने अभाव भएका नगरवासीलाई वितरण गर्दै जाने छौं । नगरपालिकाले यहाँका पाँच वटा हेल्थपोष्टमा कार्यरत ५२ देखि ५३ जना चिकित्सकको स्वास्थ्यलाई ख्याल गरी उपचारका क्रममा लगाउने पोशाक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), चश्मा र पञ्जाको व्यवस्थासमेत गरिदिएको छ“, थापाले भन्नुभयो । 

खाद्यान्न, औषधि र पानी दैनिक 

महालक्ष्मीले कोभिड–१९ को त्रास बढेसँगै नगरवासी अत्यावश्यक वस्तुबाट वञ्चित हुनु नपरोस् भनी खाद्यान्न, औषधिलगायत पानी पसललाई पूरै दिन खुला गर्न आग्रह गरेको छ । नगरपालिकाले खाद्यान्नका लागि वडा नं १ देखि ४ सम्म फैलिएर रहेको इमाडोल क्षेत्रमा तीन र लुभुमा दुई  गरी कूल पाँच खुद्रा पसल खोल्न लगाइरहेको छ । नगरपालिकाले सङ्कटमा जनता कोही पनि भोका नरहून् भन्ने उद्देश्यका साथ वडामा सम्पर्क गरी आफ्नो आर्थिक अवस्था बताएर खाद्यान्न लिन सुझाव दिएको छ ।

नगरपालिकामा  थर्मोमिटर गन थप

महालक्ष्मीमा हाल कोभिड–१९ को परीक्षण गर्न सात थर्मोमिटर गन रहेकाले यसको अझै अभाव रहेको महसुस गरी अन्य ६ वटा थप्न लागेको थापाले बताउनुभयो । “नगरपालिका विपत् व्यवस्थापन शाखाको खातामा रहेको रु एक करोड आवश्यक परे केही दिनका लागि चलाउने भएका छौं”, उहाँले थप्नुभयो, “प्रत्येक वडाका १० देखि २० स्थानमा हात धुनेपानी, साबुन र स्यानिटाइजरको व्यवस्था गरिसकेका छौँ ।”

मोबाइल प्रहरी 

नगरपालिकाले विदेशबाट घर फर्केका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी यहाँका सार्वजनिक स्थान, पसललगायत क्षेत्रमा भेला हुन नदिनका लागि मोबाइल प्रहरी खटाइरहेको छ । वडा नं ६ सिद्धिपुरमा विदेशबाट फर्केका १५  व्यक्तिलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडा नं ७ टीकाथलीमा विदेशबाट फर्केका अन्य सात जना मानिसको स्वास्थ्य परीक्षण गरी सामान्य रुघाखोकी भएको देखिँदा आवश्यक औषधिसहित क्वारेन्टाइनमा बस्न लगाइरहेका छौं ।” आजसम्म महालक्ष्मीका एक जना नागरिकमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको श्रेष्ठले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्