तौलिहवा । कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत भएकी छन्। छिमेकी युवकले मायादेवी गाउँपालिका–४ कि बालिकालाई बलात्कार गरेका हुन्।
राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताए।
स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए। बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ।
युवक भने फरार भएका छन्। बालिकाका बुबा रोजगारीका लागि भारतमा छन् भने घरमा उनी आमासँग बस्दै आएकी छन्।
गाउँलेहरु पीडित बालिकासहित जिल्ला प्रहरी कार्यालय तौलिहवा पुगेका छन्। बलात्कृत बालिकाको घाउँजाँच तथा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले घटनाका आरोपी फरार रहेको र खोजी कार्य जारी रहेको बताउनुभयो।