लकडाउन उल्लङ्घन गर्नेलाई गाउँ प्रवेशमा रोक

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : २५


कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्नेलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । 

सिरहाका केही गाउँका युवाले सडकमै बार लगाएर आवागमन रोकेका छन् । सिरहाको लहान नगरपालिका– १६ तरेगना, गोलबजार नगरपालिका–२ गुरुधाम, सखुवानन्कारकट्टी गाउँपालिका–२ जगतपुर र नरहा गाउँपालिका–२ पानबारीका युवाले सडकमै बार लगाएर गाउँमा आवतजावत बन्द गराएका हुन् । 

सरकारले लकडाउन गरेपनि गाउँघरमा सर्वसाधारणको चहलपहल नघटेको र अन्य गाउँबाट समेत मानिस आउने जाने गरिरहेकाले लक डाउनको समयमा आवगमन रोक्न यस्तो गरेको तरेगनाका युवा रामदयाल महतोले बताउनुभयो । लक डाउनको समयमा सर्वसाधारणको आवतजावत र अन्य गाउँबाट समेत व्यक्ति आउने गरेकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन सक्ने जोखिमका कारण यस्तो गर्नुपरेको उहाँको भनाइ छ । 

युवाले सडकमै बार लगाएपछि सडकमा सवारी आवागमन रोकिएको छ भने अन्य गाउँबाट समेत सर्वसाधारण आउने क्रम रोकिएको जनाएको छ । यसका साथै भारतसहित अन्य देशबाट फर्केर गाउँमै बसेकालाई समेत खोजी गरी युवाले क्वारेन्टाइनमा पठाउन सहयोग गरिरहेका छन् ।  

यसैबीच कोभिड–१९ सङ्क्रमित देशबाट आउने र शङ्कास्पद बिरामीका लागि सिरहाको सबै स्थानीय तहले क्वारेन्टाइन तयार पारेका छन् । सिरहाका १७ वटै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरिसकेका छन् । 

भारतसहित कोरोनाबाट प्रभावित अन्य मुलुकबाट आएकाको विवरण सङ्कलन गरी स्थानीय तहले विदेशबाट फर्केकालाई धमाधम क्वारेन्टाइनमा राख्न थालेका छन् । सिरहाको बरियारपट्टि गाउँपालिकामा ६, गोलबजार नगरपालिकामा एक, विष्णुपुर गाउँपालिकामा सात र भगवानपुरको आभेनगरमा तीनजनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अञ्जेश्वर चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्वारेनटाइनमा राखिएकाको अवस्था अहिलेसम्म सामान्य रहेको छ । गम्भीर प्रकृतिको बिरामी आएको खण्डमा जिल्लाका विभिन्न पाँच ठाउँमा स्थापना गरिएको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

गत चैत ११ गते कोरोना भाइरसको आशङ्कामा औरहीका एकजना युवालाई थप उपचारका लागि काठमाडौँको टेकु पु¥याए यता जिल्लामा त्यस्तो प्रकृतिको कुनै बिरामी आएकोे सूचना नआएको अधिकृत चौधरीको भनाइ छ । 

सोसल डिस्टेन्स कायम गरी समानको बिक्री गराउँदै प्रशासन

सरकारले गरेको लकडाउनका कारण बजारमा खाद्यन्न सामग्रीमा कालोबजारी बढ्न थालेपछि आजदेखि सिरहामा बजार अनुगमनसँगै सोसल डिस्टेन्स स्थापना गरी सामान बिक्री वितरण थालिएको छ । 

कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले गत सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउन गरेपछि सिरहामा खाद्यान्न सामग्रीमा कालोबजारी बढेको जनगुनासोपश्चात् स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमनसँगै पसलमा सोसल डिस्टेन्स कायम गरी बिक्री वितरण थालिएको हो । 

इलाका प्रहरी कार्यलय लहानले लहानले खाद्यान तथा अति आवश्यक पसलमा सोसल डिस्टेन्स स्थापना गरी किराना पसलबाट खाद्यान्न सामग्रीको बिक्री वितरण गराउन थालेको छ । लहान नगरपालिका–७ दुर्गा मन्दिर नजीक रहेको तुलसी किराना पसल अगाडि कम्तीमा तीन फिटको दूरीमा घेरा बनाएर दैनिक उपभोग्य सामग्री बिक्री वितरण शुरु गराएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । 
    
सोसल डिस्टेन्स कायम गरी लहानबाट दैनिक उपभोग्य तथा खाद्यन्न सामग्रीको बिक्री वितरण शुरु गरिए पनि यो अभियान जिल्लाका विभिन्न बजारमा समेत लागू गरिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताउनुभयो । 

प्रहरी उपरीक्षक चतुर्वेदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै अब सोसल डिस्टेन्स नियमअनुसार पसलको अगाडि कम्तीमा तीन फिटको दूरीमा घेराभित्र बसी उपभोक्तालाई पालैपालो गरी सामान खरिद गर्न आग्रह गर्नुभएको छ । जिल्लाभरिका प्रत्येक  स्थानीय तहभित्र रहेका प्रत्येक अति आवश्यक पसल जस्तै खाद्यान, ग्यास, औषधि तथा तरकारी पसलमा सोसल डिस्टेन्स स्थापना गरी मात्र बिक्री वितरण गर्न उहाँले आग्रहसमेत गर्नुभयो । 

यस्तै लक डाउनको मौका छोपी दैनिक उपभोग्य तथा खाद्यन्न सामग्रीमा व्यापारीबाट कालोबजारी भइरहेको व्यापक जनगुनासो बढेपछि बजार अनुगमनसमेत गर्न लागेको सिरहाका प्रजिअ सरोजप्रसाद गुरागाईंले बताउनुभयो । हामीले उद्योग व्यापार सङ्घका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिसँग बजारमा भइरहेको कालोबजारी र खाद्यान्न तथा औषधि पसल सञ्चालन गर्ने विषयमा छलफल गरिसकेका छौैँ”, उहाँले भन्नुभयो, “अब स्थानीय तहसँग समन्वय गरी बजार अनुगमनलाई तीव्रता दिने र कालोबजारी गर्नेलाई कानूनबमोजिम कार्वाही गर्ने तयारी भइरहेको छ ।”  
    
यसैबीच लक डाउनको चौथो दिन आज पनि सिरहाका बजारहरु सुनसान छन् । चोकचोकमा सर्वसाधारणको आवतजावत रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्