पोखराको लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ४४


पोखरा । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कने अभियानलाई तीव्र बनाएको छ ।

महानगरको न्यूरोडस्थित कार्यालयबाट कीटनाशक औषधि छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा कीटनाशक औषधि छर्केको हो। 

लेकसाइड क्षेत्रमा कीटनाशक औषधि छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोकलगायतका ठाउँमा कीटनाशक औषधि छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार विशेषगरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिएको महानगरपालिकाले जनाएको छ।

बिहीबार पोखराको चिप्लेढुङ्गा क्षेत्रमा पनि औषधि छरिएको हो । महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारालगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिने बताउनुभयो।

सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरवासीलाई अनुरोध गर्दै उहाँले महानगरका विभिन्न स्थानमा समेत कीटनाशक औषधि छरिने जानकारी दिनुभयो।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियानअन्तर्गत बिहीबार कीटनाशक औषधि छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्