काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ को सम्भावित सङ्क्रमणबाट बच्न देशभर लकडाउन गरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले उपत्यकामा खानेपानीको आपूर्ति र गुणस्तर मापनलाई निरन्तरता दिइरहेको छ ।
केयुकेएलले आफ्ना कर्मचारीहरुमार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । लकडाउनको आज तेस्रो दिन बिहीबार केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यको नेतृत्वमा केयुकेएलको टीमले महाकाल चौर शाखा र बासबारी शाखाको निरीक्षण गर्यो । केयुकेएलको टीमले दुबै शाखामा खानेपानीको गुणस्तर मापन गरेको थियो । खानेपानीमा हुनुपर्ने क्लोरिनको मात्रा छ कि छैन भन्ने परीक्षण गर्दा दुबै शाखामा आवश्यक मापदण्ड रहेको प्रमुख शाक्यले बताउनुभयो ।
लकडाउनको समयमा खानेपानीको अभाव नहोस भन्नका लागि केयुकेएलले पहिलो प्राथमिकता दिएर अस्पतालमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिरहेको शाक्यले जानकारी दिनु भयो । लकडाउनको समयमा मान्छेलाई चाहिने सबैभन्दा महत्वपूर्ण कुरा खानेपानी नै हो । झन हात धुन र सरसफाइ गर्न पानी नभई हुँदैन । उहाँले भन्नुभयो, ‘यस्तो बेलामा पनि कर्मचारीहरुले काम गरिरहेका छन् । हामीले खानेपानीको वितरण र गुणस्तर के कस्तो छ भनेर निरीक्षण गरेका हौ । दुबै शाखामा राम्रो रहेको पायौ ।’
अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको उहाँले बताउनुभयो । ‘खानेपानी मन्त्रालय र मन्त्रीज्यूको बेलाबेला हामीलाई निर्देशन प्राप्त भइरहेको छ । मन्त्रीज्यूबाट साथ र सहयोग पाइरहेका छौ ।’ शाक्यले भन्नु भयो, ‘यस्तो बेला हामीले कुनै कसर बाँकी नराखी काम गरिरहेका छौं र आम उपभोक्तालाई सेवा दिइरहेका छौ, सकेसम्म खानेपानी आपूर्तिमा कमी हुन दिन्नौ ।’