कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापी ‘लकडाउन’ जारी भएको मौका छोपी यहाँ आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएको प्रहरी टोलीले जनकपुरधामका विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल , वडा नं ४ महावीर चोकका २० वर्षीय अंकित साह र वडा नं ४ महावीर चोकका विकासकुमार साह रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने व्यापारीले आलु प्रतिकेजी रू ५० र प्याज प्रतिकेजी रू १०० मा बिक्री गरिरहेको जनाइएको छ। पक्राउ गरिएकाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।