दुनियाँका अर्बपतिहरुका अनेक सफलताका कथाहरु हामी चाख मानेर पढ्ने गर्छौं। जीवनमा अर्बपति बन्न उनीहरुले कम मेहनत गरेका हुँदैनन्। उसो त धेरै धनीहरुले सत्कर्मबाटै कमाए पनि कतिपयले भने अपराधिक कामबाट पनि धन कमाएका छन्। केही अपराधीहरु चाहिँ अपराध कर्मबाटै यतिधेरै धन थुपारेका हुन्छन् कि उनीहरुले थुपारेको धन मुसालाई आहारा बनिदिन्छ।
पाब्लो एस्कोबारको नाम दुनियाँकै सबैभन्दा धनी अपराधीको रुपमा इतिहासमा दर्ज छ। सन् १९९३ मा गोली लागेर मरेका उनलाई किंग अफ कोकिनको नामले पनि चिनिन्छ।
एस्कोबार कोलम्बियाका लागू औषध कारोबारी थिए। कोलम्बियाका सबै नेताहरुलाई धनले किनेर उनले आफ्नो गोजीमा राखेको बताउँथे।
लागू औषध अपराधबाट एस्कोबारले यति धेरै धन कमाए कि सन् १९८९ मा उनी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा सातौँ नम्बरमा परेका थिए। फोर्ब्स पत्रिकाका अनुसार त्यतिबेला एस्कोबारको सम्पत्ति २५ अर्ब अमेरिकी डलर थियो। जुन अहिलेको मूल्यमा १८ खर्ब ७५ अर्ब हुन्छ। उनीसँग असंख्य लक्जरी गाडीहरु तथा सयौँ घरहरु भएको बताइन्थ्यो।
पाब्लो एस्कोबारका विषयमा एउटा निकै रोचक प्रसंग छ। सन् १९८६ मा उनले कोलम्बियाको राजनीतिमा प्रवेश गर्ने कोसिस गरे। त्यसका लागि उनले तत्कालीन अवस्थामा कोलम्बियाको १० अर्ब राष्ट्रिय ऋण तिरिदिने प्रस्ताव राखेका थिए।
उनको बारेमा एक अर्को रोचक कथा पनि छ। एकचोटी उनले कहीँ यात्रा गर्दै थिए। बाटोमा जाडो भयो। त्यसपछि उनले आगो ताप्नका लागि गाडीमा रहेका २० लाख डलर बराबरका नोटका गड्डी झिके। अनि त्यहीँ नोटमा आगो सल्काएर आगो तापे।
पाब्लो एस्कोबारलाई अहिलेसम्मकै कुख्यात तथा चलाख कोकिन कारोबारी मानिन्छ। साथै उनलाई विश्व इतिहासका सबैभन्दा धनी तथा सफल अपराधी पनि मानिन्छ।
यहाँसम्म कि तत्कालीन अवस्थामा अमेरिका सरकार पनि उनीबाट समस्यामा परेको थियो। किनकि उनले पूरै अमेरिकामा आफ्नो कोकिनको कारोबार फैलाएका थिए।
पाब्लोका भाई रोबर्टो एस्कोबारका अनुसार आफुसँग भएको नगदको गड्डी बाँध्नका लागि मात्र उनले हरेक हप्ता १ हजार डलर बराबरको रबर व्याण्ड खरिद गर्ने गर्दथे। उनले धनका गड्डीलाई आफ्नो गोदाममा राख्दथे। गोदाममा मुसाको बिगबिगी थियो। जसका कारण प्रति वर्ष करिब १ अर्ब डलर बराबरका नगद नोट त मुसाले नै टुक्रा टुक्रा पारिदिन्थ्यो।
कोलम्बियाका सरकारी कर्मचारीप्रति उनको एउटा मात्र सिद्धान्त थियो, कि त घुस लेउ, कि त गोली खाऊ। उनले आफूले भनेको नमान्ने कैयन् कर्मचारीको हत्या गरे। उनकै कारण तत्कालीन अवस्थामा कोलम्बियामा धेरै हत्याकाण्डहरु भए र कोलम्बिया विश्वको हत्याको राजधानीको रुपमा चित्रित भयो।
सन् १९८५ मा कोलम्बियाको सर्वोच्च अदालतमा भएको गोलीकाण्ड उनकै नेतृत्वमा भएको थियो। जसमा अदालतमा कार्यरत आधाजसो न्यायाधीशको हत्या भएको थियो।
सरकारका लागि हत्यारा तथा अपराधी भए पनि कोलम्बियाको मेडेलिन सहरका आम जनताको नजरमा भने उनी रोबिन हुडको भूमिकामा थिए। उनले सहरबासी गरीबहरुलाई पैसा बाँड्दथे भने धेरैका लागि घर बनाइदिएका थिए। उनी गरीबको नजरमा नायकभन्दा कम थिएनन्।
अन्ततः सन् १९९३ डिसेम्बर २ मा गोली लागेर उनको मृत्यु भयो। उनलाई गोली कसले हान्यो भन्ने विषय पनि यकिन हुन सकेन। कतिपयले उनले आत्महत्या गरेको दाबी गरे भने कतिपयले पुलिसले गोली हानेर मारेको बताए।
दुनियाँका सबैभन्दा धनी तथा सफल अपराधी पाब्लोको बारेमा धेरै किताब लेखिएका छन् र फिल्मसमेत बनेका छन्।