यस्तो छ दाङमा कोरोना भाइरससँग लड्ने पूर्वतयारी

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ०९


दाङ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्न मुलुक लकडाउनको अवस्थामा छ । योसँगै प्रत्येक जिल्लामा पनि त्यससँग लड्न पूर्वतयारीहरु गरिएका छन् । दाङमा यस्तो छ कोरोना भाइरसँग लड्ने पूर्वतयारी ।

कोरोना अस्पताल सञ्चालनमा
दाङको बेलझुण्डीस्थित आयुर्वेद मेडिकल कलेजलाई हिजोदेखि ३० शैयाको कोरोना हस्पिटलका रुपमा सञ्चालनमा ल्याइएको छ । आवश्यकताका आधारमा यो हस्पिटललाई १०० बेडको बनाउने योजना रहेको छ । ५ नम्बर प्रदेश सरकारको योजनाअनुरुप बनेको यो अस्पताल अब तयारी अवस्थामा रहेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार शंकास्पद विरामी भेटिए आजैदेखि यहाँ ल्याएर उपचार शुरु गरिने छ ।

५ नम्बर प्रदेश सरकारले प्रत्येक मन्त्रीलाई एउटा कोरोना अस्पतालको सञ्चालक समितिको संयोजक तोकेर पठाएको छ । जसअनुसार दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी रहनुभएको छ । उहाँ त्यही कामकै लागि दाङमै हुनुहुन्छ । कोरोना अस्पताल सञ्चालक समितिमा नेकपा दाङका इञ्चार्ज जीवन गौतम, प्रदेश सांसदहरु अमरबहादुर डाँगी, डिल्लीबहादुर चौधरी र इन्द्रजीत चौधरी, जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली र सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु यसका सदस्य रहेका छन् ।

आजै सम्पन्न अस्पताल ब्यवस्थापन समितिको बैठकले सबै वडामा वडाध्यक्षको नेतृत्वमा सर्बदलीय समिति बनाउने निर्णय गरेको छ । सर्वदलीय समितिले वडाहरुमा विदेशबाट आएकाहरु, दैनिक मजदूरी गरेर खानेहरुको लगत संकलन गर्ने, कोही विरामी परेमा अस्पताल पुराउने लगायतका कामहरु गर्ने निर्णय भएको छ ।

स्थानीय तहका प्रमुखको समन्वयात्मक बैठक 
जिल्लाका १० वटै स्थानीय तहसहितको समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकले बिरामीका लागि कोष स्थापना गरेको छ । बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई प्रभावकारी बनाउन स्थानीय तहले सहयोग गर्ने निर्णय गरेको छ  ।

बिरामीलाई खाना खुवाउन एउटा कोष बनाइएको छ । जसमा घोराही र तुलसीपुर उपमहानगरले १/१ लाख तथा अन्य आठवटा पालिकाले ५०/५० हजार सहयोग गर्ने भएका छन् । 

बैठकले शंकास्पद बिरामी भेटिए स्थानीय स्वास्थ्य निकायमा ज्वरो जाँच गरी कोरोनाको लक्षण देखिए बेलझुन्डी अस्पताल पुराउन सहयोग गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्र गठन
यसैगरी जिल्लामा कोरोना संक्रमणविरुद्ध लड्नका लागि जिल्लामा उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण गरिएको छ । जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि रहेको उक्त संयन्त्रले पनि कोरोना संक्रमणविरुद्ध सचेतना अभियान चलाउने, जिल्लामा आइपरेका सबै समस्या सुल्झाउन प्रयास गर्ने, लकडाउनलाई पूर्णतः कार्यान्वयनमा आआफ्नो ठाउँबाट हरसम्भव प्रयास गर्ने, वडास्तरमै भारत लगायतका विदेशबाट आएका व्यक्तिहरुको अभिलेख राख्ने, क्वारेन्टाइन बसे÷नबसेको अनुगमन गर्ने, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल उपचारका लागि तोकिएको स्थानमा पुराउने लगायतका कामहरु पनि उक्त संयन्त्रले गर्ने भएको छ ।
 


प्रतिक्रिया दिनुहोस्