दाङ । दाङमा क्रियाशील दलहरु कोरोनाविरुद्ध तातिएका छन् । उनीहरु राजनीतिक तहबाट सबै उपमहानगर, नगर, गाउँपालिका, वडाका जनप्रतिनिधि र राजनीतिक दलहरु सम्मिलित एउटा संयन्त्र निर्माणमा जुटेका छन् भने उक्त संयन्त्रले यदाकदा देखिने लापरवाही रोक्न प्रयास गर्ने भएको छ ।
जिल्लामा क्रियाशील राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिव तुलसीराम पुनमगर, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का र राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै त्यस्तो संयन्त्र बनाउने जानकारी दिनुभएको हो । विज्ञप्तिमा लकडाउनको पूर्ण कार्यान्वयनका लागि जिल्लामा क्रियाशील दलहरुले आफ्नो ठाउँबाट सहयोग गर्ने र लकडाउनप्रति मूलतः आमजनताको ऐक्यवद्धता भए तापनि कतिपय स्थानमा लापरवाहीका सूचनाहरु आइरहेकाले त्यस्ता घटनाहरु रोक्न पहल गर्ने निर्णय गरिएको छ ।