हालसम्म काठमाडौं उपत्यकाभित्र कोभिड- १९ (कोरोना भाइरस) का ३ संक्रमित फेला परे पनि संक्रमितको संख्या यतिमात्र भएकोमा जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे विश्वास गर्दैनन् । डा. पाण्डेले भनेका छन्, ‘मेरो अनुमानमा उपत्यकाभित्र अहिले पनि करिब ५ सय संक्रमित छन् । त्यसैले सुरक्षित रहनका लागि होमक्वारेन्टाइनबाहेक अर्को कुनै उपाय छैन ।’
उनका अनुसार कुनै संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको छ र परीक्षण गर्दा राम्रै नतिजा आयो भन्दैमा ढुक्क हुन सकिदैन । किनभने, त्यस्तो व्यक्तिबाट अरुमा संक्रमण फैलिएको हुनसक्छ । यसकारण होमक्वारेन्टाइनजस्तो आत्मसुरक्षाका विधि अपनाउन उनले अनुरोध गरेका छन् ।
संक्रमणको जानकारी
एउटा व्यक्तिबाट अर्को व्यक्तिमा भाइरसको संक्रमण सरेको भए सामान्यतया २ देखि १० दिनभित्र पत्ता लाग्छ भन्ने मान्यता छ । तर, डा. पाण्डेको दावी छ कि, १० पनि कुर्नु पर्दैन, ५ देखि ७ दिनभित्र संक्रमित व्यक्तिमा लक्षण देखिन थाल्छ ।
यो संक्रमण प्रमणित हुन चीनमा सबभन्दा बढी समय ४३ दिन लागेको थियो, तर त्यो अपवादमात्र भएको डा. पाण्डेको ठम्याई छ । कोभिड- १९ को संक्रमणका मुख्य लक्षण ज्वरो १०२ डिग्रीभन्दा माथि हुनु, लहरे खोकी लागिरहनु र श्वासप्रश्वास गाह्रो हुनु हो । ‘यति तीन लक्षण देखिए तत्काल क्वारेन्टाइन वा आइसोलेसन वार्डमा जानुपर्छ’, उनले बताए ।
काठमाडौंमा अहिलेसम्म फेला परेका तीनैजना संक्रमित व्यक्ति विभिन्न मुलुकबाट काठमाडौं आएका हुन् । ती व्यक्तिसँगै आएका वा ती व्यक्ति नेपाल आएपछि भेटघाट वा सम्पर्कमा रहेका मानिसहरु सबैको पहिचान भइसकेको छैन । त्यसैले संक्रमित व्यक्तिहरु जहाँ पनि र जस्तो अवस्थामा पनि हुनसक्ने कारण आफैं सुरक्षित हुन घरै बस्नुबाहेक अर्को समाधान नभएको डा. पाण्डेको सुझाव छ ।
-जनआस्था