काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी मानव जातिकै लागि खतरा रहेको चेतावनी दिएका छन् । उनले यसविरुद्ध सम्पूर्ण मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिएका छन् । महासचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाईं अब पर्याप्त नहुने चेतावनी दिएका छन् ।
उनले कोरोना भाइरस मानवताविरुद्धको महामारी भएकाले यसलाई लिएर कुनै पनि देशले राजनीति गर्न नहुने बताए । अमेरिका र युरोपेलीसहित पश्चिमा देशहरुले कोरोना भाइरसलाई लिएर राजनीति गर्न खोजेको कुरा उठिरहेका बेला राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ लाई चाइनिज भाइरसको संज्ञा दिएका छन् । राष्ट्रसंघले आधारभूत स्वास्थ्य सेवा नभएका जोखिमपूर्ण देशलाई मद्दत गर्न २ अर्ब डलर कोषको पनि घोषणा गरेको छ । विकासोन्मुख र गरिब देशमा कोरोना महामारी फैलिएमा लाखौँ मानिसले ज्यान गुमाउन सक्ने चेतावनी पनि राष्ट्रसंघले दिइसकेको छ ।