कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ४ : १९


 

विराटनगर । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने  निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ ।
 कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र  उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब  जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । 

अटेर गर्ने प्रहरी नियन्त्रणमाः ४७ जना क्वारेन्टाइनमा
 भारतबाट नेपाल छिर्ने ४७  नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।  यसैगरी कोरोना भाइरसबाट  नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसैबीच लकडाउनमा उपभोक्ताका घरघरमा सामान पु¥याउन स्थानीय गुद्री अनलाइनले माग गरेबमोजिम चारचक्के गाडी एक थान, मोटरसाइकल आठ थान र साइकल तीन थान चलाउनलाई पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।  अनलाइनमार्फत फलफूल, तरकारी, किराना सामान तथा खाद्य सामग्री पनि बिक्रीवितरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निवदेन परेबमोजिम  जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरिएको कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्