११३७ मा फोन गर्नुस्, घरमै आउँछ अत्यावश्यक सामान

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  १ : ३१


काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यक वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था मिलाउने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनिट्रकमार्फत अति आवश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो।

ती मिनिट्रकलाई विशेष पास उपलब्ध गराएर अति आवश्यकीय खाद्यान्न जस्तो चामल, दाल, तेल, नुन, आलुलगायतका ढुवानी गर्नसकिने गरी तयारी भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले निजीस्तरबाट सञ्चालित ठूला खाद्यान्न बिक्रेता सुपरमार्केटलाई घरसम्मै ढुवानीको व्यवस्था गर्न आग्रह गरेको छ। 

मन्त्रालयले चैत ११ देखि १८ गतेसम्म मुलुक लकडाउन गरेकाले ठूला खाद्यान्न बिक्रेतासमेत रहेका सुपरमार्केटलाई उपभोक्ताको मागअनुसार घरसम्मै खाद्यान्न ढुवानी गरी कोरोना भाइरस नियन्त्रणको प्रयासमा सहयोग गर्न आग्रह गरेको हो। आजको गोरखापत्र दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्