दाङ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले नेपाललाई लक डाउन घोषणा गरेको छ ।
विश्वका विकसित मुलुकहरु चीन, इटली, अमेरिका, कोरिया लगायतका सम्पन्न मुलुकलाई समेत कोरोना भाइरसले थिलोथिलो पारेपछि नेपाललाई यसको संक्रमण हुन नदिन भन्दै नेपाल सरकारले लकडाउन घोषणा गरेको हो ।
नेपाललाई नै लक डाउन गरेपछि दाङ जिल्लाको प्रमुख केन्द्र घोराही बजार सुनसान प्रायः छ । सरकारले हिजो चैत्र ११ गते देखि आगामी चैत्र १८ गते सम्म लकडाउन गरेपछिको दोस्रो दिन घोराही बजार सुनसान देखिएको हो ।
दाङको घोराही उपमहानगरपालिकाले बिहानैदेखि माइकिङ गर्दै कोरोनाको महामारीबाट बच्न सबैलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ । बिशेष परिस्थिति बाहेकका सवारी साधनहरुलाई चल्न नदिने घोषणापछि आज बजार सुनसान छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय दाङले महामारीबाट देशलाई नै जोगाउन कसैलाई पनि घरबाहिर ननिस्कन अनुरोध गर्दै आगामी दिनको लकडाउन झनै कडा र सशक्त हुने बताएको छ ।