बढ्दै गएको कोरोनाको जोखिममा नागरिक दायित्व के ?

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ५३


एकनारायण पौडेल

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ९(COVID -19 ) को महामारी झण्डै विश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३,३२० मा यो सक्रमण देखिएको छ भने १५,४०८ को मृत्यु भएको छ । त्यस्तैगरी १,००,६०५ जना निको भएका छन् भने हाल मध्यम अवस्थामा २,२६,००९ छन् । ११,२९८ जना जटिल अवस्थामा उपचाररत छन् । 

यो सक्रमणले महामारीको रुप लिँदै विश्वका अति विकसित राष्ट्रहरुको समेत निद हराम गरिसकेको छ । अमेरिका, बेलायत, स्पेन, इटाली, अस्ट्रेलिया, जापान जस्ता विकशित देशहरु समेतको टाउको दुखाई भएको अबस्थामा हाम्रो जस्तो अविकसित देश नेपालमा समेत यसको सक्रमण देखिन थालेको छ । चैत ४ गरे फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया नेपाली विद्यार्थीमा सक्रमण देखिएको पुष्टि भइसकेको छ । यो पुष्टिसङ्गै सरकारले पनि नागरिक चहलपहल कम गर्न र जोखिम न्यूनीकरणको लागि केही कदमहरु लिएको छ । जसअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनका लागि राखिएका साढे ५ सयमध्ये आधाजति जबर्जस्ती पर्खाल नाघेर बहादुरी देखाएछन् । यस्ता भेडा, मुर्ख र अनुशासनहीन जनता भएको देशमा कुन मानवीय हिसाबले नाकामा अझै सदाशयता देखाउने ? यस्ता पशुहरु चाहे आफ्नै दाजुभाइ किन नहुन्, चाहे ज्याला मजदुरी गर्ने किन नहुन् र चाहे आधा अर्थतन्त्र यिनैको रेमिटान्सले धानेको किन नहोस् ? भारतीय नाकामा कफ्र्यु र सेना लगाएर भएपनि पूर्णतः बन्द गरिनुपर्छ ।

१५÷२० दिन अगाडि इटालीको अवस्था पनि झण्डै  आजको नेपालको जस्तै थियो । सरकारले शुरूवातमा अलि सामान्य ढङ्गले लिए पनि केही समयपछि उसले आप्mना नागरिकलाई अनावश्यक बाहिर ननिस्कन भनेको थियो । अनावश्यक सपिङ मल, रेस्टुरेन्ट नजान र भीडभाड नगर्न भनेको थियो । तर, झण्डै हामी जस्तै उद्दण्ड, अनुशासनहीन र घमण्डी जनताले हेलचेक्राई गरेर गम्भीरता साथ नलिँदा आज इटालीको के अवस्था हुँदैछ ? विश्वकै सबैभन्दा बढी जनसंख्या बोकेर पनि अनुशासन र पद्धतिलाई आत्मसात गरेर चीनले आज लगभग नियन्त्रण शून्यमा झार्दैछ । संक्रमण एकबाट दुई र दुईबाट ३ हुने हो । यदि लापरबाही र हेलचेक्राई गर्दै जाने हो भने एकजनामा देखिएको संक्रमण अन्यमा फैलन धेरै समय लाग्दैन । त्यसै पनि साधन, स्रोत, प्रविधि र जनशक्तिको हिसाबले हामी  अत्यन्त पछाडि छौ भने भौगोलिक, सडक र सूचना पहुँचको हकमा अझै पनि कमजोर छौं । 

तसर्थ सरकारलाई मात्रै धारे हात र आलोचना गरेर हामी आफू चाहिँ गम्भीर नहुने, लापरवाही, हेलचेक्राई र मजाक गरिरहने हो भने पक्कै पनि हामीलाई न त पशुपतिनाथले बचाउन सक्नेछन् न त बुद्धले नै । न त सगरमाथाले नै छेक्नेछ ।      सरकारले हवाई उडान, सवारीसाधन, मेला, महोत्सव, विभिन्न खेलकुद, जिमखाना, चलचित्र हल, उत्तरी र दक्षिणी नाकाहरु बन्द गरेर सकारात्मक थालनी गरेको छ । तसर्थ अब हामी आम नागरिक सचेत, गम्भीर र सावधानी हुन सकेनौं वा चाहेनौं भने यसले निकट भविष्यमा नै स्थिति काबुबाहिर नजाला भन्न सकिन्न । हामीलाई हाम्रै हेलचेक्राई र लापरवाहीले पश्चाताप गर्ने समय पनि दिने छैन । तसर्थ नियमित साबुनपानीले हात सफा गरौं । सम्भव भएसम्म मास्क र पञ्जाको प्रयोग गरौं । भिटामीन सीयुक्त खानेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला मिर्च, कागती, सुन्तला, किवी, काउली, ब्रोकाउली इत्यादि खाने गरौं ।

समयको सम्वेदनशीलतालाई नबुझेर, बुझ्नै नचाहेर वा बुझेर पनि गम्भीर हुन नसकेर यस्तो प्रतिकूल परिस्थितिमा पनि गाउँघर तथा शहरमा तामझामका साथ विवाह, ब्रतबन्ध, बर्थडे, इङ्गेजमेन्ट, न्वारन, पास्नी, छेका जस्ता कार्यक्रम राख्दै अझै पनि लापरवाही गर्दैछन् भने सचेत गराऔं । यदि सचेत गराउँदा गराउँदै कोही अटेरी गर्छ भने सामाजिक बहिष्कार गरौं । गाउँमा रहनु हुने युवा दस्ता, विद्यार्थी र स्थानीय प्रतिनिधिले जोखिमरहित सामाजिक अभियान चलाऔं । शिक्षकहरुले पनि  यो समयमा उल्लेखनीय भूमिका निर्वाह गरिदिनुहोला । जसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन सकोस् ।

भरतपुर महानगरपालिका– १३ चितवन
हाल : साउदी अरव

 


प्रतिक्रिया दिनुहोस्