काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आज दिउँसो ३ः०० बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो।
अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
नियन्त्रणमा लिएकेमध्ये दुईपाङ्ग्रे ७७० र चारपाङ्ग्रे १२१ रहेका महाशाखाले जनाएको छ।
घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उहाँले उल्लेख गर्नुभयो।
अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताउनुभयो।
प्रहरीले मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो।
सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ।