बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली खछयाङले स्थानीय अधिकारीहरुलाई नयाँ कोरोना भाइरसका संक्रमितहरु नलुकाउन चेतावनी दिएका छन् । चीनमा पछिल्ला केही दिन यता स्थानीय कोरोना संक्रिमतहरु देखिएका छैनन् । चीनको दोस्रो दर्जाका नेता लीले तथ्यबाट सत्यता पहिल्याउन आग्रह गर्दै ‘खुला र पारदर्शी’ हुन निर्देशन दिएका छन् ।
उनले भने, ‘खुला र पारदर्शी हुनुको अर्थ कहीं कुनै नयाँ स्थानीय संक्रमित देखिएमा तुरुन्त रिपोर्ट गर्नुहोस् । जे हो, त्यही रिपोर्टिङ गर्नुहोस् । गलत र सहीलाई लुकाउने काम नगर्नुहोस् ।’ कोरोना भाइरसविरुद्धको लडाइँका लागि प्रधानमन्त्री लि जनवरीमा केन्द्र सरकारको कार्यदलको नेतृत्वमा नियुक्त गरिएका थिए ।
उनले जनवरी अन्तिम साता कोरोना इपिसेन्टर वुहानको भ्रमण गरेका थिए । त्यसैगरी मार्चमा राष्ट्रपति सी पनि आफैं वुहान पुगेका थिए । स्थानीय अधिकारीहरुले कोरोना संक्रमितको वास्तविक तथ्य लुकाएको आरोप लागेको छ । चीनमा पछिल्लो समय बाहिरबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ भने संक्रमितको संख्यामा पनि कमी आएको छ ।