काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट एक जनाको ज्यान गएको छ।
ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि क्लोरोक्वाइन नामक औषधिको सिफारिस गरेका थिए। उक्त औषधिको सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ।
अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार, क्लोरोक्वाइन सेवन गर्ने दम्पती ६० वर्ष माथिका छन्। क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो। तर, ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका थिए ।
औषधि सेवन गर्ने दम्पत्तिले क्लोरोक्वाइनको फाइदाबारे आफूले ट्रम्पले टेलिभिजन सम्बोधनमार्फत जानकारी दिएको हुँदा त्यहीअनुरूप सेवन गरेको बताएका छन्।
कोरोनाको संक्रमण नभए पनि त्यसको सम्भावित जोखिमबाट जोगिन क्लोरोक्वाइन सेवन गरेको उनको भनाइ छ।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले मलेरिया, लुप्सलगायत रोगका लागि क्लोरोक्वाइन सिफारिस गरेको थियो। तर कोरोनाका बिरामीका लागि यसले काम गर्छ कि गर्दैन भनेर अहिलेसम्म ठोस अनुसन्धान भएको छैन। अनुसन्धान नै नभएको औषधिबारे गलत सन्देश प्रवाह गरेको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ।