तेस्रो देशबाट फर्किएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ०८


जहान परिवार पाल्नका लागि भारत गएका स्थानीयबासी धमाधम घर फर्किन थालेपछि दैलेखमा ‘कोभिड –१९’ को जोखिम बढ्दै गएको छ । 

छिमेकी राष्ट्र वा तेस्रो मुलुकमा समेत कोरोना भाइरसले मानिसको मृत्यु भएकाले त्यहाँबाट घर फर्किनेमा पनि कोभिड –१९ हुन सक्ने आशङ्काले जोखिम बढेको हो। 

सङ्क्रमण फैलिन नदिन भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । 

उहाँले भन्नुभयो, “भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने निर्णय भएको छ  ।  भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीय नागरिक तथा विदेशी नागरिकलाई स्वास्थ्य जाँचका लागि राख्न पञ्चदेवल मावि रावतकोट र गौरी मावि बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ ।

त्यसैगरी गाउँपालिकाले कोभिड–१९को  सङ्क्रमण भित्रिन नदिन भारतलगायत तेस्रो मुलुकबाट गाउँपालिका भित्रिने नागरिकको स्वास्थ्य जाँचका लागि  गाउँपालिकाअन्तर्गत भीरखेत र चगत्रा बजारमा ‘हेल्थ डेक्स’ सञ्चालन गर्ने भएको छ ।  तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेको नाम, ठेगाना, आएको स्थानलगायतको विवरण वडा सचिवमार्फत सङ्कलन गरिने गाउँपालिकाले जनाएको छ । 

सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइ, खानपान तथा व्यायामका विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाभित्र सामाजिक परम्पराअनुसार गरिने विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता कार्य गरी भेला तथा जमघट गर्न बन्देज लगाएको छ। 


प्रतिक्रिया दिनुहोस्