काठमाडौं । देउराली जनता फर्मास्युटिकल्स प्रालिले कोभिड–१९ को विरामीको उपचारमा प्रयोग हुने ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ उत्पादन गर्ने भएको छ । कम्पनीले आफूले बनाएको उक्त औषधि सरकारलाई सित्तैमा दिने भएको छ ।
‘विश्वभरि हालसम्म कोभिड–१९ को उपचारका लागि एकमात्र औषधिका रूपमा यसको उपयोग गर्न सकिने विभिन्न शोधहरूले देखाएका छन् । भारतले यसलाई औपचारिक प्रयोगमा ल्याउने निर्णय नै गरिसकेको छ’, देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले भन्नुभयो, ‘राष्ट्रप्रतिको जिम्मेवारी महसुस गरेर हामीले हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई दिने निर्णय गरेका हौं ।’
कार्यकारी निर्देशक शमाका अनुसार कम्पनीले तत्काल ४ लाख ट्याबलेट हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई निःशुल्क उपलब्ध गराउने छ । जुन करिब १५ हजार कोभिड–१९ का बिमारीको उपचारका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । यसको बजार मूल्य करिब ४८ लाख रुपैयाँ बराबर पर्ने बताइएको छ ।
‘हामी कामना गरौं, नेपालमा कोरोनाभाइरस संक्रमित बिमारी नै नदेखिउन्, यदि कोहीमा यस्तो संक्रमण देखिइहालेमा मुलुकभित्रै यसका प्रतिरोधी औषधि उपलब्धता हुन सकोस् भनेर हामीले अग्रसरता लिएका हौं’, शर्माले भन्नुभयो । औषधिको प्रभावकारितासँगै सरकारले निर्णय लिएमा यस्ता जीवनरक्षक औषधिको उत्पादनमा थप हातेमालो गर्न सकिने शमाको भनाइ छ । देउराली जनताले हाल विभिन्न प्रकारका जीवन रक्षकसहित २१० प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ ।