अलपत्र यात्रुको उद्धारका लागि कर्णालीमा हटलाइन सेवा

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : ४६


सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरु भएसँगै बीच वाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरु गरेको छ । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलवार वसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो । 

कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्वरको हटलाइन सेवा शुरु गर्ने निर्णय गरेको छ । 

घर फर्कने उद्देश्यले यात्रा शूरु गरी लकडाउनका कारण वाटोमा अलपत्र रहेका कर्णाली प्रदेशभित्रका नागरिकहरुले यो सेवाको उपयोग गरी सरकारलाई आफनो अवस्थाको वारेमा जानकारी दिन सक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिनुभयो । 

मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रवन्ध गरी अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नु पर्नेलाई क्वारेन्टाईनमा राख्ने र वाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ । 

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकाँश नागरिक फर्कने क्रममा बीच वाटोमा अलपत्र परेको गुनासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको वताइएको छ ।  
 


प्रतिक्रिया दिनुहोस्