सीमामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा बस्ने शर्तसहित प्रवेश दिने निर्णय

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : १०


काठमाडौं । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरिएको छ। 

भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी, पानीट्यांकी लगायतका नाकामा रोकिएका छन्। गड्डाचोकी नाकामा त प्रहरी र नाकामा अलपत्र नेपालीबीच झपडसमेत भएको थियो।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तिम पटकका लागि आज (मंगलबार) आउन दिन निर्णय भएको बताउनुभयो। उहाँले प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्ने शर्तमा आजसम्म नाकामा आएकाहरुलाई प्रवेश गर्न दिने निर्णय गरिएको बताउनुभयो।

सरकारको निर्णयसँगै भारतबाट नेपाल फर्किएर विभिन्न नाकामा अलपत्र परेका नेपालीहरुलाई ठूलो राहत भएको छ। सीमामा अलपत्र परेकाहरु नेपाल प्रवेशको अनुमति पाए पनि १४ दिन प्रदेश सरकार र स्थानीय प्रशासनले तोकेको क्वारेन्टाइनमा बस्नैपर्ने हुन्छ।

उसो त केही दिनअघि नेपालगञ्जको जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरु क्वारेन्टाइनबाटै भागेका थिए। नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनबाट उनीहरु भागेका थिए।


प्रतिक्रिया दिनुहोस्