कोरोना संक्रमित नेपाली युवतीसँगै दोहाबाट यात्रा गर्ने १२५ को पहिचान

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : २३


काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ।

प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारेन्टाइनजस्ता थप सतर्कता अपनाउन आफूले मातहतका निकायलाई पत्राचार गरेको जनाएको छ।

त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए। फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ।

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले बताउनुभयो।

उहाँले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिनुभयो।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको बताउनुभयो।

कतार एअरवेजको क्यूआर ६५२ जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना पत्ता लगाइसकेको र अरु यात्रुको पनि ठेगाना पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो।

यात्रुहरुको घरको ठेगाना पत्ता लगाएसँगै स्थानीय प्रहरी पठाएर उनीहरूको अवस्था बुझ्ने र थप सतर्कता अपनाउन, स्वास्थ्य जाँच गर्न र होम क्वारेन्टाइनमा बस्न भनिरहेको बताउनुभयो। साथै स्वास्थ्य मन्त्रायसँग समन्वय गरी सबै यात्रुको यथाशीघ्र स्वास्थ्य परीक्षण गरिने पनि उहाँले जानकारी दिनुभयो।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो।

ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी गराएको थियो। मन्त्रालयका अनुसार नेपालमै कोरोना भाइरसको संक्रमण भएको यो दोस्रो घटना हो।

यसअघि केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उपचारपछि उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्