शिवु खनाल
दाङ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि नेपाल सरकारले गरेको लकडाउन उल्लंघन गर्ने ३ सय ५० सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो । जसमध्य लकडाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिप्पर १० वटा, अटो १० वटा, टेक्टर ७ वटा र एउटा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक खड्काले भन्नुभयो, ‘कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनमा अटेरी गरी चलेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सबैभन्दा धेरै सवारीसाधन तुलसीपुरमा पक्राउ परेका छन् । तुलसीपुरमा इलाका प्रशासन कार्यालयले १ सय ८७ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय दाङले २४ वटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३२ वटा, वडा प्रहरी कार्यालय लमहीले ४८ वटा, इलाका प्रहरी कार्यालय नारायणपुरले २१ वटा, वडा प्रहरी कार्यालय घोराहीले १८ वटा, इलाका प्रहरी कार्यालय भालुबाङले १२ वटा, प्रहरी चौकी दुईखोलीले ५ र कमिरेचौरले ३ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनका चालकहरुलाई पुनः गल्ती दोहोराएमा कानुनबमोजिम कारवार्ही गर्ने चेतावनीसहित छोडिएको प्रहरीले जनाएको छ ।
जिल्लामा एम्बुलेन्स, पानी, फोहोर बोक्ने सवारीसाधन सञ्चालनसँगै औषधि, डेरी, खाद्यान्नलगायतका पसलहरु खुल्ला रहेका छन् ।