कोभिड १९ विरुद्धको लडाईंः चीनबाट एम्बुलेन्स, औषधीसहित ३० टन सामान ल्याइदै

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : ३५


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको उपचारका लागि चीन सरकारले एम्बुलेन्स, औषधीसहित करिब ३० टन सामान पठाउन लागेको छ। 

चीनले नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सामग्रीहरु सिचुवानको छेन्दुमा जम्मा गरी काठमाडौं ल्याउने तयारी गरिएको हो।

गतहप्ता नेपालले चीन र भारत दुवैतर्फबाट कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची बुझाएको थियो। तर, छिमेकी भारत आफै अहिले कोरोना संक्रमणसँग जुधिरहेको हुँदा चीनबाटै चाँडो सामान आउने देखिएकाले सरकारले त्यसतर्फ तदारुकता देखाएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार जतिसक्यो छिटो सामान ल्याउने तयारी गरिरहेको र अहिले चिनियाँ पक्षले सामान संकलन गर्दै सिचुवानको छेन्दूमा जम्मा गरिरहेको छ। सामान ल्याउन नेपाली विमान पठाउने कि चिनियाँ विमानबाटै ल्याउने भन्ने टुङ्गो नलागेको भए पनि काम द्रुत गतिमा भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालले चीनसँग तीन तहको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान आवश्यक रहेको जनाएको छ।

त्यसैगरी ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत माग गरेको छ।

यसैबीच नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूतले सोमबार नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको बताउनुभएको छ। 

राजदूत होउ यान्छीले ट्विटरमार्फत चिकित्सा सामग्री चाँडै नेपाल ल्याउने बताउनुभएको हो। ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दैछौं। हामी साथमा छौं,’

आफ्नो देशमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा लिन सफल भएको चीनले कोरोना संक्रमणको उपचारका लागि अहिले इटली, कम्बोडिया लगायतका देशमा चिकित्सकहरूसहितको सहयोग टोली पठाइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस्