आजदेखि नेपाल लकडाउनः के के गर्न पाइदैन् ?

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १ : १५


काठमाडौँ । सरकारले आज (मंगलबार) देखि नेपाल पूर्ण रुपमा 'लक डाउन' गरेको छ। नेपाल 'लक डाउन'मा गएपछि नेपालीहरु घरबाट बाहिर निस्किन पाउने छैनन्।  

काठमाडौँमा एक जना व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो। फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको थियो। 

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज (मंगलबार) बिहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो। लक डाउनमा खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन। 

लक डाउनमा सबै हवाइसेवा बन्द हुने छन् भने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधन बाहेक अरु व्यक्ति तथा सवारी साधन पूर्ण रुपमा ठप्प हुनेछन्।  स्वास्थ्य, भन्सार, सुरक्षा लगायत अत्यावश्यकबाहेक अरू क्षेत्रका सम्पूर्ण कर्मचारीलाई बिदा दिने निर्णय गरिएको छ। 

औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द हुने छन्। 

केके गर्न पाइदैन् ? हेर्नुहोस् सरकारको निर्णय 

औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवा बोहक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बनिधत कार्यालय प्रमुखले बिदा दिने

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन, उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने

व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने

संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा(२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यव्सथा मिलाउन नेपाल राज्यका सबै जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने

संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने


प्रतिक्रिया दिनुहोस्