काठमाडौं । सरकारले एक साताका लागि सिंगो मुलुकलाई लकडाउन गर्ने घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन् । उहाँले ट्वीटमार्फत भनेका छन्, ‘सरकारले घोषणा गरेको लकडाउनको निर्णय सही छ । ठूलो जोखिमबाट बच्न सानो कष्टलाई सहजतापूर्वक लेऔ । यो हाम्रै लागि हो ।’
प्रवक्ता शर्माले पार्टीको तर्फबाट ७ बुँदे आग्रह पनि जारी गर्नुभएको छ । प्रवक्ता शर्माको ट्वीट :
सरकारले घोषणा गरेको ‘लकडाउन’को निर्णय सही छ । ठूलो जोखिमबाट बच्न सानो कष्टलाई सहजतापूर्वक लिऔं । यो हाम्रै लागि हो ।
सरकार र समुदायका नाममा ७ बुँदे आग्रह
१) ‘लकडाउन’को अवधि ७ दिनबाट लम्बिन पनि सक्छ । त्यस्तो स्थितिमा ‘दिनभरि काम गरेर माम जुटाउने वर्ग‘को चुल्हो यो लकडाउनले पूरै ‘लक’ गर्न सक्छ ।
अतः सरकारले यथाशीघ्र राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्नु दुरदर्शिता हुनेछ ।
२) जोखिमसँग जुध्न दैनिकरूपमा सही सूचना र तथ्यहरु सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निश्चित गर्नुपर्दछ । जसले नागरिक पंक्तिमा निरन्तर ढाडससँगै उच्च मनोबलको साथ रहनेछ । समुदायले सतर्कता राख्दै साथ दिएर यो संघर्षलाई सफल बनाउनु छ ।
३) खाद्यान्न अभाव र असहजता हुनसक्ने स्थिति आउन नदिन संघीय सरकारले
तिनै तहको सरकारबीच उचित समन्वय साथ सुलभ स्थिति बनाउन र नागरिकलाई निरन्तर आश्वस्त बनाउन जरुरी छ ।
४) ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने जोकसैलाई पनि कोरोना सम्बन्धी निश्चित लक्षण देखिए ‘सम्पर्क कहाँ गर्ने, तिनलाई अस्पताल कसरी कहाँ पुराइने र उपचार प्रक्रियाको सहजता के हुने जस्ता अन्यौल सरकारले यथाशीघ्र चिर्न जरुरी छ ।
५) यो ‘तेस्रो विश्वयुद्ध’ संसारले स्वास्थकर्मीहरुको नेतृत्वमा लड्नुपरेको छ ।
अतः स्वास्थकर्मीहरुको उच्च मनोबल राख्न, पर्याप्त पिपिई प्रबन्ध गर्न र प्रयोगशाला कम्तीमा ७ प्रदेशमै प्रबन्ध गरेर परीक्षण सहज बनाउन सरकारले तीब्र कार्य गर्नुपर्दछ ।
६) ‘लकडाउन’ले सबैथरी ब्यवसायलाई गम्भीर असर पुग्ने स्थिति दृष्टिगत गरेर सरकारले ‘व्यवसायीको बैंकिङ ब्याज घटाउने र किस्ता तिर्ने समयावधि लम्ब्याउन समन्वयको भूमिका यथाशीघ्र निर्वाह गर्नुपर्दछ ।
७) एकातर्फ हामी पूरै देश ‘लकडाउन’मा गएका छौं भने अर्कातर्फ लाखौं नेपाली विदेशी भूमिमा ‘लक्ड’ स्थितिमा छन् । तिनको अभिभावक मूलतः मातृभूमि नेपाल नै हो । सरकारले विविध माध्यमबाट प्रवासी नेपालीको सहजताका लागि भूमिका निर्वाह गर्न जरुरी छ ।
अन्त्यमा… सरकारलाई यी सबै आग्रह `लकडाउन´ पुर्वनै हामीले आन्तरिक संवाद मार्फत गरिसकेका छौं l यस्तो बेला सरकारलाई सघाउनु हामी सबैको कर्तव्य हो l तर सरकारलाई घच्घच्याउने दायित्वपनि हामी सबैको हो l यो दायित्व हामी निरन्तर निभाउनेछौं !