भारतबाट आएका ५ सय बढी नेपाली क्वारेन्टाइनबाट भागे

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ५५


नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका ५ सय भन्दा बढी नेपाली क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो।  नेपाल ल्याएपछि उनीहरुलाई ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्‍वारेन्टाइन पुर्याइएको थियो। तर उनीहरु सुरक्षाकर्मीलाई अटेर गर्दै त्यहाँबाट भागेको नेपालगञ्ज उपमहानगरपालिकाले पुष्टी गरेको छ। 

सरकारले आज १० बजेपछि सीमा नाका बन्द गर्ने घोषणा गरेको थियो। तर उनीहरु यात्रु आवागमन रोक्ने समय भन्दा पहिले  नाकामा आएर अलपत्र परेपछि बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेको थियो। 

एउटै कोठामा ३०/३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाउँदै सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गरेर त्यहाँबाट भागेको उपमहानगरपालिकाले जनाएको छ। 

प्रहरीका अनुसार अहिले करिब २०० मानिस क्‍वारेन्टाइनमा रहेको र उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्