काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : ३८


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ । 

उपत्यकामा आवश्यक अरु स्थानमा समेत यो सेवा विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । ती स्थानमा ५०० लिटर पानीसँगै हात धुने साबुनको व्यवस्था गरिएको छ । प्रशोधित पानी नियमितरूपमा उपलब्ध गराइने उहाँको भनाइ छ । ट्याङ्कीमा पानी खाली भए÷नभएको हेर्ने जिम्मेवारी कर्मचारीलाई दिइएको छ । उहाँले भन्नुभयो, “स्थानीयवासीले पनि आफ्नो क्षेत्रमा रहेको ट्याङ्कीमा पानी भए÷नभएको जानकारी गराउन सक्छन् ।”

कोरोना भाइरसको जोखिम बढिरहे पनि लिमिटेडले नियमितरूपमा उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको छ । भाइरस रोकथाम र नियन्त्रणका लागि लिमिटेडले मास्क, स्यानिटाइजर, साबुनलगायत आवश्यक सामग्री उपलब्ध गराएर कर्मचारीलाई नियमित काममा लगाएको हो । 


प्रतिक्रिया दिनुहोस्