लामो दूरीका सार्वजनिक यातायात बन्द, निजी कार र मोटरसाइकललाई छैन रोक

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ००


काठमाडौं । सरकारले आज सोमबारदेखि कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई अनिश्चितकालका लागि रोक लगाएको छ। 

कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सरकारले आज (सोमबार)देखि लागू हुने गरी लामो दूरीका सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि बन्द गराएको हो।

लामो दूरीका सार्वजनिक यातायात सेवामात्रै बन्द गरिएको तर निजी कार तथा मोटरसाइकलहरुलाई भने नरोकिएको प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए। यसअघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो।

प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिएको बताए। उनले एम्बुलेन्ससहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी पनि चलिरहने जानकारी दिए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ। चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ। तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने बिडारीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दूरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस्