सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धः तर निर्वाधरुपमा चल्नेछन् यी उडान

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : ४३


सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आइतबार मध्यरातीबाट लागु भएको छ। तर अधिकारीहरूका अनुसार सरकारको 'निर्णय' ले विदेश फर्किन चाहनेहरूको निम्ति विकल्प पनि खुला गरेको छ। जस अनुसार केही विमान कम्पनीले उडान जारी राख्ने बताइएको छ।

उपप्रधानमन्त्री इश्वर पोख्रेल नेतृत्वको उच्चस्तरीय समितिले यसअघि नै "युरोपका सबै मुलुकहरू, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातीदेखि लागु हुनेगरी आगमनमा प्रतिबन्ध लगाउने' निर्णय गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण र अध्यागमन विभागको सूचनामा भने त्यो १२ एप्रिलसम्म लागु हुने भनिएको थियो।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारत, थाइल्याण्ड, भुटान, बाङ्ग्लादेश, सिङ्गापुर र चीनबाट मात्र उडान भइरहेको थियो।

त्यसपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडानमा ३१ मार्चसम्मको निम्ति रोक लगाएको छ।

उडान नियमित हुने सर्त
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यसअघि नै रोक लगाइएका केही देश वा विमानस्थलबाट पनि काठमाडौँमा विमान अवतरण गरेका छन् र ती विमान यात्रु लिएर फर्किएका पनि छन्।आइतवार कतार एयरवेजले दोहा-काठमाडौँ, काठमाडौँ-दोहा, इतिहाद एयरवेजले अबुधाबी-काठमाडौँ,काठमाडौँ-अबुधाबी, सिल्क एयरले सिङ्गापुर-काठमाडौँ, काठमाडौँ-सिङ्गापुर, ड्रुक एयरले पारो (भुटान) -काठमाडौँ, काठमाडौँ- पारो उडान गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सरकारको निर्णयका आधारमा प्रतिबन्धित देश र विमानस्थलबाट पनि ती उडान भएका हुन्। र, ती विमान सेवाका उडान पूर्ण प्रतिबन्धपछि पनि जारी रहन सक्छन्।

क्षेत्रीले भने, "कतार र इतिहाद एयरवेजलाई उताबाट यात्रु नल्याएर खाली आउने, पाइलटहरू जहाजमै बसिरहने र यहाँका यात्रु लग्ने सुविधा सरकारको निर्णय गराएर दिइएको छ। तर अरूलाई अहिलेसम्म त्यो अनुमति छैन।"

सुविधा अरूलाई पनि दिन सकिने
ती दुई विमान सेवा कम्पनीले पुरानै उडान तालिकाअनुसार यात्रु लिएर जाने गरेका छन्।

उनीहरूले सोमवार पनि उडान गर्ने जानकारी नेपाली अधिकारीहरूलाई दिएको बताइएको छ।अरू विमान सेवा कम्पनीले चाहेमा त्यो सुविधाको निम्ति अनुमति दिन सकिने उनले जानकारी दिए।

कुनै देशबाट निकाला गरिएका नेपाली अलपत्र परेका छन् भने उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर क्वारन्टीनमा राख्ने गरी नेपाल ल्याउने अवस्था रहेमा सरकार लचिलो हुनसक्ने अधिकारीहरू बताउँछन्।

तर त्यस्तो स्थितिबारे अहिलेसम्म कुनै विमान सेवा कम्पनीले सरकारलाई जानकारी गराएका छैनन्।


प्रतिक्रिया दिनुहोस्