कोरोनाका कारण जापान फर्किन नपाएका एक व्यक्तिको दुर्घटनामा मृत्यु

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  २ : ५४


दाङ । दाङमा स्कुटी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ।  

दाङको घोराहीबाट लमही तर्फ आउँदै गरेको रा ३ प ५४३० नम्बरको स्कुटी लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार भन्ने स्थानमा दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ वर्षीय अमित सिंह धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो।

उक्त दुर्घटना कति बेला भएको हो भन्ने बारे एकिन नभएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख बाबुराम जिसीले बताउनुभयो। गम्भीर अवस्थामा रहेका धामीलाई लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ। मृतक धामी प्युठानका प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काका भान्जा रहेको बुझिएको छ। 

जापान पढ्न गएका धामी गत कार्तिकमा घर फर्किएका थिए। कोरोनाका कारण जापान नफर्किएका उनी साथीहरू भेट्न लमही जान्छु भनी आइतबार दिउँसो घरबाट निस्किएको र एकैपटक आज बिहान प्रहरीले खबर गरेपछि घटनाका बारेमा आफूहरूलाई थाहा भएको धामीका परिवारले जनाएका छन् । 

धामीका परिवारले दुर्घटना भएको हो वा हत्या गरिएको भन्ने बारे यथार्थ छानविन गरिदिन पनि प्रशासनसँग माग गरेका छन्। 

उनको शबलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा रखिएको छ ।


प्रतिक्रिया दिनुहोस्