कोभिड-१९ को सङ्क्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी भीड जम्मा नगर्न निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आज सर्वसाधारणको अत्यधिक भीड लागेको छ।
राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखामा आज बिहान ९ बजेदेखि सर्वसाधारणको भीड लागेको थियो । एघार बजेसम्म कार्यालयभित्रको लाइन बढेर बाहिर सूर्यविनायकको सडकसम्म पुगेको थियो।
दशैँमा पनि यति भीड नहुने यो बैंकमा कोरोना भाइरसका कारण बैंक बन्द हुने हल्लाले पैसा झिक्न एकै पटक आउनाका कारण बैंकमा भीड बढेको बैंकका एक कर्मचारीले जानकारी दिनुभयो । बैंकका कर्मचारी कुमाले खत्रीका अनुसार सरकारले २५ जनाभन्दा बढी भीड नगर्नु भनेको अवस्थामा भित्र २५ जनालाई मात्रै प्रवेश गराउँदा बाहिर भीड बढेको हो ।
“हाम्रा सुरक्षा गार्डले मात्रै स्थिति सम्हाल्न नसकेपछि प्रहरीको मद्दत लिनुप-यो, आजदेखि पेन्सन वितरण पनि शुरु भयो,” उहाँले भन्नुभयो, “पेन्सन झिक्न आउने र कोरोनाको हल्लाले पैसा झिक्न आउने आजै आउँदा बैंकमा भीड जम्मा भएको हो ।” बैंकभित्र भने २५ जनाभन्दा बढीलाई प्रवेश नदिएको बताउँदै उहाँले बाहिरको भीड कर्मचारीले रोक्न नसक्ने बताउनुभयो।
बैंकको लाइनमा बस्नेहरु टाँसिएर बसेको र मास्कसमेत नलगाएका कारण कोरोनाको जोखिम बढेको बताउँदै लाइनमा पैसा झिक्न आएकी सूर्यविनायक–८ सिपाडोलकी रमिला श्रेष्ठले बैंकमा दुईतीनवटा काउन्टरको व्यवस्था गरेर छिटोछरितो सेवा दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
सूर्यविनायककै प्रभु बैंकमा ११ बजेदेखि पैसा झिक्न आउनेको लाइन बढेको थियो। लाइन पाण्डुबजार अगाडिसम्म पुगेको थियो। बैंकका सुरक्षा गार्डले भित्र २५ जनाभन्दा बढी नपठाएका कारण लाइन धेरै बढेको बताउनुभयो।
भक्तपुरका नेपाल बैंक, एनआइसी एशिया, सानिमा, माछापुच्छे्र«, मेघालगायत बैंकमा रकम झिक्नेको भीड लागेको थियो। प्रभु बैंकमा पैसा झिक्न लाइन बस्नेहरुमध्ये मध्यपुरथिमिका रमेश श्रेष्ठले कुनै पनि बेला ‘लक डाउन’ हुने डर, खाद्यान्न जोहो गर्नुपर्ने र आकस्मिक अवस्थामा चलाउनुपर्ने भएकाले रकम झिक्न लागेको बताउनुभयो।
कोरोना भाइरसका कारण सरकारले उपत्यकालाई लक डाउन गर्न सक्ने र बैंकहरु बन्द हुन सक्ने भएकाले घरमै पैसाको जोहो गरेर राख्नका लागि रकम झिक्न जानेहरु एकैपटक आएकाले बैंकमा भीड भएको बैंकका कर्मचारीको भनाइ छ। बैंकमा आउनेहरु अधिकांशले कोरोनाको जोखिमका कारण बैंक पनि बन्द होला र सरकारले बाहिर निस्कन नदिएला भन्ने डरले घरमा केही पैसा जोहो गरेर राख्ने भन्दै आएको बताएका छन्।