काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले नेपाल भारत सीमा नाकामा कडाई गर्नेबारे भारतीय राजदुतसँग छलफल गरेका छन्।
गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री थापाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग शिष्टाचार भेटवार्ता गरेका हुन।
भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
गृहमन्त्री थापाले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबीच सहकार्यको आवश्यकतामा जोड दिए।
नेपाल–भारतसिमाबाट सो महामारी नफैलियोस् भनेर सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरे।
राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे।
उनले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए।
कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको बताए।